माइतीघर’ फिल्मको छायाङ्कन म्याग्दीको ताकमबाट सुरु

विकल्प न्यूज/बेनी
बैशाख १८ गते

फिल्म ‘माइतीघर’को छायाङ्कन सुरु भएको छ । बिहीबार म्याग्दीको ताकम गाउँमा फिल्मले शुभसाइत गर्दै छायाङ्कन सुरु गरेको हो । स्थानीय गणेश मन्दिरमा फिल्मको शुभसाइत पूजा भएको निर्माता रोहित अधिकारीले जानकारी दिए । निर्माता अधिकारीका अनुसार, २० दिन ताकम र धारपानी गाउँमा छायाङ्कन हुनेछ फिल्मको बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा छायाङ्कन हुनेछ । 

धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन शुभसाइत समारोहको प्रमुख अतिथि  थिए । उनले, पहिलो पटक गाउँमा फिल्मको छायाङ्कन हुन लागेको भन्दै खुसी व्यक्त गरे । यो फिल्मबाट गाउँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको धारणा थियो ।

शुभसाइत समारोहमा वडा नम्बर ७ का अध्यक्ष अशोक खत्रीले नरिवल फोडेका थिए । उनले पनि उचित प्रसारप्रसार हुन सकेको खण्डमा गाउँको विकास हुने धारणा राखे ।

शुभसाइत समारोह अघि फिल्मको टिमलाई गाउँमा बाजा बजाउँदै स्वागत गरिएको थियो । फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय रहनेछ ।

मिलन तामाङको निर्देशनमा बन्ने फिल्ममा सुसन प्रजापतिको छायाङ्कन रहनेछ । फिल्मलाई दसैँको फूलपातीबाट रिलिज गर्ने घोषणा भएको छ । 

रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा रविन शेरचन र धीरज तामाङको पनि लगानी छ । फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन् । निर्माता अधिकारीले यसअघि निर्माण गरेका ‘गाजलु, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’लाई दर्शकले रुचाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *