म्याग्दी, वैशाख १९ गते ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १६ देखि २७ महिनासम्म गाउँपालिकाभित्र रहेका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
गाउँपालिका भित्रका ८ वटा वडाहरुमा रहेका १५ महिना मुनिका ९९ जना बालबालिकाहरुले नियमित खोप लगाइ रहेको तथा १६ देखि ५९ महिना भित्रका चार सय ३७ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित भएको हो । चालु वर्षमा हालसम्म सबैले पूर्ण खोप पाएको र अगामी दिनमा पनि दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिकाको रुपमा घोषणा गरिएको हो ।
गाउँपालिकामा १५ महिनाभन्दा मुनिका बालबालिकाहरुले नियमित खोप लगाइरहेको र १६ देखि ५९ महिना भित्रका बालबालिकाले पनि पूरा खोप पाइ सकेको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताउनुभयो ।
‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित एक समारोहबिच अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सबै खोपको मात्रा पूरा गरेका थिए । चालु वर्षमा म्याग्दी जिल्ला भित्रका धवलागिरी गाउँपालिका, मालिका गाउँपालिका, मंगला गाउँपालिका, रघुगंगा गाउँपालिकाले पूर्ण खोप सुनिश्चिता घोषणा गरि सकेका र अन्नपुर्ण गाउँपालिकाले शुक्रबार घोषणा गरेपछि अब बेनी नगरपालिका घोषणा बाँकी रहेको जिल्ला खोप समन्वय समितिले जनाएको छ । जिल्ला भित्रका सबै पालिकाको घोषणा गरेर वैशाख २५ सम्मा जिल्लालाई नै पूर्णखोप सुनिश्चित घोषणा गर्ने योजना रहेको जिल्ला खोप समन्वय समिति म्याग्दीले जनाएको छ ।
खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरु पूरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिकाको रुपमा घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बरुवालले बताउनुभयो । बालबालिकाहरुले पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेको उहाँको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता’ लेखिएको व्यानर वाचनसहित प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता कायम गराउने बताउनुभयो । गाउँपालिका भित्रका सबै सात वटै वडालाई पूर्णखोप तथा सुनिश्चितता घोषणा गरि सके पछि मात्रै गाउँपालिकालाई पनि घोषणा गरिएको उहाँको भनाइ छ । कार्यक्रम अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको अध्यक्षता तथा स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक समुन्द्र बरुवालको सञ्चालनमा सम्पन्न भएको थियो । gorkhapatra