पर्वत ।
नेपाली कांग्रेसका पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीले कांग्रेसको साधारण सदस्य समेत परित्याग गरेको घोषणा गरेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापतिको प्रत्याशी रहेका सुवेदी पर्वतमा गगन थापा समूहका नेता मानिन्छन् । सुवेदीसहित ३१ जना जिल्लास्तरीय नेता कार्यकर्ताहरुले कांग्रेस परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका हुन् ।
सुवेदी जिल्ला अधिवेशनमा गगन थापा पक्षबाट सभापति उम्मेदवार बनेर युवराज जोशीसँग पराजित भएका थिए । उनी नेविसंघका पूर्व जिल्ला सभापति समेत हुन् ।
उनीसँग जिल्ला कार्य समिति सदस्य किसान थापा,फलेबास नगरपालिकाका सचिव सागर भुसाल,प्रदेश सभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल,नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठकलगायत छन् । कांग्रेस परित्याग गरेका नेताहरु चाँडै राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुने तयारी रहेको बताइएको छ ।