गठबन्धनसँग चुनाव लड्न मैदानमा उत्रिए एमालेबाट भरत र दिवा

विकल्प न्यूज\बेनी
चैत २८ गते ।

 

आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको उम्मद्वार टुंगो लगाएको छ ।  आइतबार र सोमबार गाउँपालिका केन्द्र पोखरेबगरमा बसेको गाउँपालिका कमिटीको वैठकले अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको नेकपा एमालेका जिल्ला अध्यक्ष देवेन्द्र बहादुर केसीले जानकारी दिनुभयो ।

अध्यक्षका उम्मेदवार पुन लामो समय शिक्षक पेशाबाट हालैमात्र अवकाश लिनुभएको हो भने उपाध्यक्षका उम्मेद्वार दिवा पुन गैरसरकारी संस्थामा लामो समय देखि क्रियाशिल हुनुहुन्छ । एमालेले दुवैजना सामाजिक रुपमा लोकप्रिय उम्मेदवार उठाउँदा गठबन्धन दलहरुलाई सकस पर्ने देखिएको छ ।

यता गठबन्धनमा आवद्ध काँग्रेस र माओवादीले भागबन्डामा कुरा नमिलेपछि उम्मेदवार चयन गर्न सकेका छैनन् । अघिल्लो निर्वाचनमा अन्नपूर्णको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसले जितेको थियो ।