गण्डकी प्रदेशमा कोरोनाका कारण एक जनाको ज्यान गयो, २५ जना सङक्रमित थपिए

काठमाण्डौ : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका ११ की ३२ वर्षकी महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो । योसँगै गण्डकी प्रदेशमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

यस्तै गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तनहुँका ९, बाग्लुङका ८, लम्जुङका ४, नवलपरासीका ३ र पर्वतका एक गरी २५ जनामा सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

लम्जुङ र बाग्लुङमा कोरोना पुष्टि भएका तीन जना सुरक्षाकर्मी हुन् भने एक जना पालिकामा कार्यरत कर्मचारी हुन् । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या एक हजार ९ सय ७७ पुगेको छ । निको हुनेको दर ८४ दशमलव २१ प्रतिशत रहेको पनि गण्डकी प्रदेश सरकारले जनाएको छ । ujyalo online