विकल्प न्यूज\बेनी
बैशाख ३० गते ।
गाउँघरमा पछिल्लो समय मादल बजाउने सीप हराउन थालेपछि संरक्षणका लागि मादल बजाउने सीप सिकाउन थालिएको छ । बेनी नगरपालिकाले मादल बजाउने मौलिक कलाको संरक्षण गर्न महिलाहरुलाई मादल बजाउने तालिम दिन थालेको हो ।
गाउँघरमा मादल बजाउने सीप हराउदै जान थालेपछि बेनी नगरपालिका ४ सिंगाका महिलाहरुलाई मादल बजाउने तालिम दिन थालिएको हो । तालिम एकहप्ता सम्म संचालन हुने छ ।
वडा कार्यालयको आयोजनामा आइतवारदेखि गीत संगीतको क्षेत्रमा अत्यावश्यक बाध्यबाधनको रुपमा चिनिने मादल बजाउने सीप सिकाई सम्बन्धी तालिम संचालन गरिएको वडाध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो ।
तालिममा वडाभित्रका विभिन्न टोल,वस्तीमा रहेका महिला र आमा समुहका ४० जनाको सहभागिता रहेको छ । पछिल्लो समय मौलिक कला संस्कृतिको लोप हुनथालेको भन्दै वडा कार्यालय संस्कृति संरक्षणमा जुटेको वडाध्यक्ष खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘‘ पछिल्लो समय गाउँघरमा मादल बजाउने सीप हराएर जाने अवस्था आएको र युवापुस्तामा मौलिक संस्कृतिको बारेमा वेखवर हुने जोखिम बढेपछि महिलाहरुका लागि मादल बजाउने सीप प्रदान गर्न तालिम सञ्चालन गरेका हौं ।’’
गाउँघरमा हुने पूजा, विभिन्न पर्व, भजनकिर्तनमा बाद्यवादन गर्ने व्यक्तिको अभाव हँुदै गएको अवस्थामा मादल बजाउने तालिमले पुराना संस्कृति र परम्पराको संरक्षणमा समेत सघाउ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
तालिममा मादल बजाउने सीपका साथै मादलका ताल लगायतको बारेमा कलाकार कृष्ण जिसीले एकसाता सम्म व्यवहारिक तालिम प्रदान गर्नुहुने छ । कार्यक्रममा वडा सचिब बिनिता रेग्मीले गाउँघरमा हुने भजन किर्तनमा मादल बजाउनेको अभाब हुने र सिप भएको मान्छेको खोजी गर्नुपर्ने बाध्यताको अन्त्य गर्न तालिमले सहयोग पूग्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा जनचेतना युवा क्लबका पूर्व अध्यक्ष देवेन्द्र चोखाल र प्रशिक्षक जिसीले नयाँ पुस्तामा पुख्र्यौली संस्कृति र सिप हस्तान्तरण गर्न तालिम सहयोगी बन्नेमा जोड दिनुभएको थियो भने सामाजिक परिचालक सिता थापा कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।