जलजलाको माझफाँटमा अस्थायी प्रहरी चौकी राख्न माग

विकल्प न्यूज/बेनी
बैशाख २३ गते ।

 पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा अस्थायी प्रहरी चौकी राख्न स्थानीयहरुले माग गरेका छन् । पछिल्लो समय आपराधिक घटनाहरुमा वृद्धि हुँदै गएको र माझफाँटवासीहरुले असुरक्षित महशुस गरेकाले सुरक्षाको वातावरण मिलाउन प्रहरी चौकी राख्नुपर्ने माग गरेका हुन ।

जलजला २ का वडाध्यक्ष प्रकाशबहादुर क्षेत्रीले सुरक्षा ब्यवस्थाका लागि प्रमुख जिल्ला अधिकारीलाई भेटेर अस्थायी प्रहरी चौकीको माग गरेको बताउनुभयो । साविक माझफाँट गाविसमा अहिले २,३ र ४ नम्बर वडाहरु छन् । माझफाँटमा ठूलो वस्ती रहेको छ । एकमहिना अघि जलजला २ मा दम्पतीको हत्या भएपछि माझफाँटवासीहरु त्रसित भएका छन् ।

गाउँमा युवाहरुको संख्या घट्दै जाने र बृद्धबृद्धाको संख्या उल्लेख्य भएको भन्दै आपराधिक घटनाहरु नियन्त्रण गर्न प्रहरीको नियमित सुरक्षा वडाध्यक्ष जिसीले बताउनुभयो ।
वडा न ४ का वडाध्यक्ष भरत क्षेत्रीले सुरक्षा ब्यवस्थाको लागि स्थानीय रुपमा सहयोग गर्न वडा कार्यालय तयार रहेको बताउनुभयो ।

जलजला गाउँपालिकाकै मिलनचोकमा प्रहरी चौकी छ । प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले उक्त प्रहरी चौकीलाई स्तरोउन्नती गर्न सकेको खण्डमा थप सुरक्षा ब्यवस्थाका लागि माझफाँट क्षेत्रमा प्रहरी विट राख्नका लागि सहज हुने धारणा ब्यक्त गरेको स्थानीय वडाअध्यक्षहरुको भनाई छ ।

जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया गमला जिसीको गत चैत १९ गते राती हत्या भएको थियो । हत्यामा संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिई कानूनी कारबाहीलाई अगाडी बढाएको छ ।