चुनावी घोषणा पत्र अनुसार बजेट ल्याउन जनप्रतिनिधिलाई एमालेको निर्देशन

विकल्प न्यूज\बेनी
जेठ ४ गते ।

 

नेकपा एमाले म्याग्दीले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई चुनावी घोषणापत्र अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन निर्देशन गरेको छ । शुक्रबार बेनीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेताहरुले नगर तथा गाउँपालिका जितेका पालिकाहरुमा पार्टीको नीति तथा कार्यक्रम अनुसार जनताको पक्षमा काम गर्ने गरी आगमी आर्थिक वर्षमा बजेट ल्याउन निर्देशन दिएका हुन ।

निर्वाचन अघि मतदाता र आम जनतासँग गरिएका प्रतिवद्धता अनुसार कामको समिक्षा, अगाामी निति तथा कार्यक्रम, ५ बर्षे रणनीतिक योजना लगायत विभिन्न विषयमा केन्द्रित भएर पार्टीले प्रशिक्षण दिइएको छ ।

एक दिवसीय प्रशिक्षणमा नेकपा एमालेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट,नेकपा एमालेका केन्द्रिय सदस्य एवम् म्याग्दी इन्चार्ज गोविन्द नेपालीले जनताको पक्षमा गरेका कामबाट पार्टीको प्रभाव विस्तारसँगै समृद्ध नेपालको परिकल्पना समेत पूरा हुने बताउनुभयो ।

नेकपा एमाले म्याग्दीका निर्वतमान अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटीका सदस्य हरिकृष्ण श्रेष्ठले आफ्नो भूगोलमा रहेका पिछडिएको वर्ग,दलित र अल्पसंख्यकहरुलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न जनप्रतिनिधिलाई अनुरोध गदैं स्थानीय जनमतले पार्टीको सबैभन्दा ठूलो शक्ती भएको बताउनुभयो ।

प्रशिक्षणको क्रममा जनताको आवश्यकतामा केन्द्रित भएर बजेट विनियोजन सहित निर्वाचित भएपछिको कार्यसम्पादनको लिखित विवरण प्रस्तुतसँगै चालू आवमा पालिका र वडामा प्रक्षेपित बजेटको बिवरण, आगामी बर्षमा प्रस्तावित योजना बिवरण पेश, निर्वाचनको घोषणा/प्रतिबद्धतासंग बजेटको तादम्यताको स्थिति बिश्लेषण, असल अभ्यासको अनुभव आदानप्रदान लगायतका विषयमा केन्द्रित रहेको थियो ।

प्रशिक्षणमा एमालेबाट निर्वाचित प्रमुख, उप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो । नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदीले जनताको प्रत्यक्ष उपस्थितीमा कार्यसम्पादन हुने तहका जनप्रतिनिधिको कार्यसम्पादन तथा भावि योजना, समस्या, कमीकमजोरीको समेत समिक्षा गरिएको बताउनुभयो ।

प्रशिक्षण्को जिल्ला अध्यक्ष सुबेदीको अध्यक्षता उपसचिव खड्क गिरीको स्वागत तथा सचिव थमसरा पुनले सञ्चालन गर्नुभएको थियो ।