विकल्प न्यूज/बेनी
जेठ ४ गते ।
बेनी नगरपालिका ६ स्थित राउवडाको वस्ती जोड्ने सडक ढलान सहित स्तरोन्नति भएपछि यात्रा सहज भएको छ । सडक ढलान भएसँगै वर्षातका समयमा हिलाम्मे सडकका कारण राउवडावासीहरुले भोग्नु परेको सास्तीको अन्त्य भएको छ । बेनी नगरपालिका, ८ डल्लेपिपलबाट माथि राउवडा चोक–फोहोटे हुँदै ज्यामुनाखर्क जोड्ने सडक स्तरोन्नति योजना अन्तर्गत रावडामा सडक ढलान,नाली निर्माण र ग्यावियन झाली लगाएर सडक स्तरोन्नति गरिएको हो ।
सडक ढलान भएसँगै हिलोका कारण आवतजावतमा भोग्नुपरेको सास्ती अन्त्य हुनुका साथै यातायात सञ्चालनमा सहज भएपछि स्थानीयवासीहरु खुसी भएका छन् । सडक ढलानका साथै स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको पचास लाख रुपियाँ बराबरको बजेट पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत कार्यान्वनय गरेको हो । सडक फराकिलो, आरसीसी ढलान, नाली र ग्याबियन झाली निर्माण गरेर सडक स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर मुक्ति बुढाथोकीले बताउनुभयो ।
सडक स्तरोन्नति भएसँगै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीयवासी जिवन आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वर्षातको समयमा सवारीसाधन हिलोमा फस्ने समस्या थियो । सडक हिलाम्मे हुँदा पैदल यात्रा गर्न पनि निकै कठिने हुने गरेको थियो । सडक ढलान भएसँगै गाउँदेखि बेनी जान सहज भएको छ । सडक पनि चिटिक्क देखिएको छ ।’’
सडक स्तरोन्नति योजना अन्तर्गत सबै भन्दा अफठ्यारो मानिएको सडकको एकसय ७५ मिटर सडक नाली सहित ढलान गरिएको छ । भने थप एकसय मिटर नाली निर्माण गरिएको छ । योजनामा एकसय ६३ घनमिटर ग्यावियन झाली लगाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार एकवटा कजवय,दुईवटा क्रसिङ निर्माण गरिएको छ । जेठ ३० गते भित्र सक्नुपर्ने योजनाको अहिले सम्म ८० प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर बुढाथोकीले जानकारी दिनुभयो । सडक स्तरोन्नति भएपछि राउवडावासीहरुलाई बेनी बजार आवतजावत गर्न सहज भएको बेनी नगरपालिका ६ का वडाध्यक्ष कृष्णशिंह बानियाँले बताउनुभयो ।
सडकको दुरवस्थाका कारण स्थानीयवासीहरुले भोगेको सास्तीलाई मध्यनजर गर्दै वडाले सडक स्तरोन्नतिका लागि नगरपालिका र प्रदेश सरकार सँग बजेट माग गरेको उहाँले बताउनुभयो । बेनी नगरपालिका ८ को डल्लेपिपल देखि राउवडा वस्ती हुँदै अर्थुङ्गे सम्मनै सडक स्तरोन्नति गर्नका लागि आगमी आर्थिक वर्षमा पनि वडाले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।