गुणस्तर सुधारसँगै अब्बल बन्दै बेनीको बालमन्दिर विद्यालय

ठाकुरप्रसाद आचार्य \म्याग्दी
बैशाख २८ गते ।


समुदायमा जागरुकता, शिक्षक र अभिभावकको मेहनतले बेनीको एक सरकारी विद्यालयले मुहार फेरेको छ । प्रधानाध्यापक–शिक्षक टिम, व्यवस्थापन समिति–समुदाय, दाता अथवा अन्य सामाजिक व्यक्तिहरुको मेहनत र योगदानले बेनीको बालमन्दिर माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा अब्बल हुँदै जान थालेको छ ।

बेनी नगरपालिका ८ कालिपुल स्थित बालमन्दिर बेनीकै पुरानो मध्यको एक विद्यालय हो । ५३ वर्ष अघि स्थापना भएको यस विद्यालयले अभिभावकको साथ,सहयोग र शिक्षकहरुको मेहनतका कारण शैक्षिक गुणस्तर सुधारका साथै व्यवस्थापनमा अब्बल सावित हुँदै जान थालेको छ । राम्रो व्यवस्थापन र शैक्षिक गुणस्तर सुधार सँगै विद्यालय अभिभावकको रोजाईमा पर्न थालेको हो ।
यो विद्यालय नौं वर्ष अघि विद्यार्थी अभावमा बन्द हुन थालेको थियो । कक्षा ५ सम्म मात्र पठनपाठन हुने विद्यालयमा त्यतिबेला जम्मा ४१ जना विद्यार्थी अध्ययनरत थिए । विद्यालयको भौतिक संरचना र शैक्षिक गुणस्तर राम्रो नभएपछि विद्यालय खाली हुँदै जान थालेको थियो । २०७१ मा विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा सुरेन्द्रप्रसाद केसी आएसँगै विद्यालयले क्रमिक रुपमा शैक्षिक सुधार गर्न थाल्यो । स्थानीय समुदाय, विद्यालय प्रशासन,शिक्षक र अभिभावकको सहकार्यले बन्द हुन थालेको विद्यालयले एकाएक मुहार फे¥यो ।

विद्यार्थी संख्या न्यून भएपछि अर्को विद्यालयमा गाभ्ने चर्चाका बीच २०७१ को फागुनमा विद्यालयले अभिभावक भेला ढाक्यो । भेलाले विद्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तर वृद्धि गर्ने कार्ययोजना बनायो । त्यसपछि अभिभावकहरुमा शैक्षिक जागरण पैदा भएको विद्यालयका प्रधानाध्यापक केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विद्यार्थी संख्या न्यून हुनथालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुनथालेको थियो । अभिभावकहरुमा शैक्षिक जागरण,स्थानीयवासीहरुको सहयोग र शिक्षकहरुको परिश्रमले छोटो अवधिमा शैक्षिक गुणस्तर वृद्धि गर्न सफल भयौं । पछिल्ला केही वर्ष यता विद्यार्थीको रोजाईमा विद्यालय पर्न थालेको छ ।’’ विद्यालयमा कम्प्युटर र विज्ञान ल्याबका साथै पुस्तकालयको समेत व्यवस्था गरिएको छ ।

२०७२ सालको नयाँ शैक्षिक सत्रका लागि विद्यालयले संचालन गरेको भर्ना अभियानबाट ९३ जना विद्यार्थी थपिएपछि हामीलाई हौसला मिल्यो प्रअ केसीले भन्नुभयो, ‘‘प्रत्येक वर्ष विद्यार्थी थपिँदै गए । अभिभावकमा आएको शैक्षिक जागरणले शिक्षकहरुमा पनि हौसला थपियो ।’’

चन्दा सहयोगले भौतिक पूर्वाधार थपिँदै गए । २०७३ साल देखि कक्षा ६ मा पठनपाठन हुन थाल्यो । विद्यार्थी संख्या बढेर एकसय ३३ जना पुगे । स्थानीय सरकार आएसँगै भौतिक पूर्वाधार निर्माण र दरबन्दी मिलानबाट जनशक्ति थपिन थालेपछि विद्यालयलाई सहयोग पुगेको प्रअ केसीले बताउनुभयो । २०७५ देखि चार वर्ष कक्षा ८ सम्म पठनपाठन भएको विद्यालयमा २०८० देखि कक्षा ९ र २०८१ को नयाँ शैक्षिक सत्र देखि कक्षा १० थपी पठनपाठनको व्यवस्था मिलाइएको प्रअ केसीले बताउनुभयो ।

विद्यालयले कक्षा कोठा निर्माण सँगै व्यवसायिक सटरहरु निर्माण ग¥यो । व्यवसायिक सटरहरु भाडामा दिएर विद्यालयले आन्तरिक आम्दानी बढाउन थाल्यो । विद्यालयको आन्तरिक आम्दानीको रकम र चन्दा सहयोगबाट ६ जना निजी स्रोतका शिक्षकलाई पारिश्रमिक उपलब्ध गराउने गरेको प्रअ केसी बताउँनुहुन्छ ।

हामीले समयको मागअनुसार विद्यार्थीलाई सिकाइ कार्यमा कुनै कमी हुन दिएका छैनौँ, बालमैत्री वातावरणमा शिक्षण कार्य गरिएको प्रअ केसीको भनाई छ ।‘विद्यालय आउँदा जसरी उत्साहका साथ पढ्न आउँछन् त्यसरी नै विद्यालय सकिएपछि उत्साहका साथ नै विद्यार्थी पढेर घर फर्कने वातावरण विद्यालयले तयार पारेको छ’, प्रअ केसीले भन्नुभयो ।

प्रार्थनामा विद्यार्थीले नै नियमित तीन प्रश्नहरु सोध्ने,नयाँ कुराको जानकारी दिने, नियमित प्रवचन, सङ्गीतसहितको पिटी, नियमित अतिरिक्त क्रियाकलापजस्ता कार्यक्रम गर्ने गरिएको प्रअ केसीले बताउनुभयो । नेपाली र अंग्रेजी दुबै माध्यमबाट पठनपाठन हुने विद्यालयमा यस वर्ष कक्षा देखि ९ सम्म ९३ जना नयाँ विद्यार्थी थपिएका छन् ।

कक्षा एक देखि १० सम्म पठनपाठन हुने विद्यालयमा हाल तीनसय २४ जना विद्यार्थी अध्ययनरत छन् । बेनी नगरपालिकाले विद्यालयमा आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरिदिए विद्यालयलाई नमूना बनाउने योजना रहेको प्रअ केसीको भनाई छ ।