विकल्प न्यूज\बेनी
जेठ १ गते ।
म्याग्दी बहुमुखी क्याम्पसमा रु १ करोड ६२ लाख लागतमा विज्ञान प्रयोगशाला भवन र प्रयोगशाला निर्माण भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५आइ नेपालको रु १ करोड ३२ लाख र म्याग्दीमा रहेका लायन्स क्लबहरुको रु ४० लाख बराबरको आर्थिक सहयोगमा पाँच कोठे भवन सहित विज्ञान प्रयोगशाला निर्माण गरिएको हो ।
नवनिर्मित भवन र प्रयोगशालाको सोमबार लायन्स अन्तराष्ट्रियका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले उद्घाटन गर्नुभएको छ । क्याम्पसमा निर्माण भएको भवनमा तला थप गरेर निर्माण गरिएको पाँच कोठे प्रयोगशाला कक्षमा विज्ञान बिषयमा पठनपाठन हुने बिषयको प्रयोगात्मक अध्ययनका लागि आबश्यक पर्ने सामाग्री र उपकरणहरुको व्यवस्थापन गरेर प्रयोगशाला स्थापना गरिएको छ ।
नवनिर्मित भवनमा चिकित्सा विज्ञान, रसायन विज्ञान र जीवविज्ञानका छुट्टाछुट्टै कोठामा प्रयोगशाला स्थापना गरिएको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले जानकारी दिनुभयो । क्याम्पसमा अहिले स्नातक तहमा शिक्षा संकायतर्फ विज्ञान बिषयमा पठनपाठन हुँदै आएको र आगामी दिनमा कक्षा ११ मा समेत विज्ञान बिषयमा पठनपाठन गराउने लक्ष्य लिएको उहाँले बताउनुभयो ।
भवनको उद्घाटन गर्दै लायन्स अन्तराष्ट्रियका डाइरेक्टर बुर्लाकोटीले विज्ञान बिषयका विद्यार्थीहरुको लागि प्रयोगशालाले व्यवहारिक र प्रयोगात्मक अध्ययनमा सघाउने बताउनुभयो । चालु आर्थिक बर्षमा मात्रै लायन्स अन्तराष्ट्रियबाट नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको सामाजिक क्षेत्रको विकास निर्माणमा रु २७ करोड बढीको योजना प्राप्त भैसकेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा लायन्स अन्तराष्ट्रियका डाइरेक्टर बुर्लाकोटी, डिष्ट्रिक गभर्नर चन्द्र कुमार केसी, परियोजना अध्यक्ष सन्तोष रावल लगायतले नवनिर्मित भवनको चाबि क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगाना र क्याम्पस प्रमुख जिसीलाई हस्तान्तरण गर्नुभएको थियो ।म्याग्दी जिल्लाको पहिलो क्याम्पसको रुपमा सञ्चालनमा रहेको यस क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रयायन (क्यूएए) मान्यता प्राप्त क्याम्पस समेत हो ।
कक्षा ११ देखि स्नातकोत्तर तहसम्मको पठनपाठन हुने यस क्याम्पसमा अहिल करिब १ हजार दुई सय विद्यार्थी अध्ययनरत रहेका छन् । क्याम्पसमा समय सुहाउँदो प्राविधिक धारतर्फका बिषयमा अध्यापन गराउन सुरु भएको र जिल्लाकै नेतृत्वदायि शैक्षिक संस्थाको रुपमा विकास भैरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुंगानाले बताउनुभयो ।
म्याग्दीमा यस अघि लायन्स क्लबले करिब रु पाँच करोडको लागतमा बेनी नगरपालिका– ९ तोरीपानीमा रहको गलेश्वर मावि र मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरेको थियो ।