सिन्धुपाल्चोक लिदी पहिरो : थप तीन जनाको शव भेटियो, १७ जना अझै बेपत्ता

सिन्धुपाल्चाेक –

सिन्धुपाल्चाेक जुगल गाउँपालिका २ काे लिदीमा गएकाे पहिरोमा पुरिएका थप तीन जनाको शव भेटिएको छ ।

साेमबार बिहान २२ वर्षीय छविलाल दोङ, ६ वर्षीय सुमन दोङ र १० वर्षीय सुरज दोङको शव भेटिएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

पहिरोमा हराइरहेका मध्ये अहिलेसम्म २२ जनाको शव भेटिएको छ । पहिरोमा अझै १७ जना हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको छ ।

गएको शुक्रबार बिहान खसेकाे पहिरोले लिदीको ३७ वटा घरमा क्षति पुर्‍याएकाे छ भने १३ वटा घर पूरै भत्किएका छन् । यस्तै पहिरोमा परेर ज्यान गुमाएकाका परिवारलाई एक लाख रुपैयाँ राहत दिइएको छ ।

पहिरोबाट प्रभावितहरु अहिले नजिकैको कोदोबारीमा त्रिपाल टाँगेर बसिरहेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा कसरी सार्ने भन्नेबारे समिति बनाएर छलफल गरिने जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो । ujyalo