बारामा किट अभावले कोरोना परीक्षणमा ढिलाइ

११ जेठ, काठमाडौं ।

बारामा किट अभाव हुँदा सम्भावित कोरोना संक्रमितको परीक्षणमा ढिलाइ भएको छ ।

पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको तर स्वाब संकलन गर्ने भाँडा (भीटीएम) र पीसीआर किटको अभाव हुँदा परीक्षणमा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले  जानकारी दिए ।

प्रजिअ पण्डितले पर्याप्त किट उपलब्ध नभएको र परीक्षण गर्न आवश्यक नभएका व्यक्तिले पनि परीक्षणका लागि आग्रह गरेकामा फेसबुकमा स्टाटस लेखेरै असन्तुष्टि जनाए । उनले प्रहरी कार्यालयका सिपाहीमा कोरोना संक्रमण देखिँदा पनि सुरक्षा निकायका प्रमुखहरुको परीक्षण गराउन नसकिएको बताएका छन् ।

पछिल्लो समय जिल्लामा संक्रमितको संख्या ह्वातै बढेको पनि उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणमा ढिलाइ भएको प्रजिअ पण्डितले बताए । ‘संक्रमित भेटिएको क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको समेत परीक्षण गराउन सकेका छैनौं’ उनले भने ।

प्रजिअ पण्डितका अनुसार तत्कालका लागि एक हजार थान किटको आवश्यकता रहेको छ ।

जिल्लाको विभिन्न १६ स्थानमा बनाइएका ३३ वटा क्वारेन्टाइनमा अहिले पनि ६०४ जना मानिस बसिरहेका छन् । क्वारेन्टाइनमा बस्ने अधिकांश भारतबाट फर्किर आएकाहरु छन् । क्वारेन्टाइनमा दुई हप्ता भन्दा बढी समय बसिसकेका उनीहरुलाई परीक्षण नगरी घर पठाउँदा थप जोखिम बढ्न सक्ने अवस्था रहेको उनले बताए ।

प्रजिअ पण्डितले भने, ‘शुक्रबार एकैदिन सिम्रौनगढ क्वारेन्टाइनमा बसेका ६ जना व्यक्तिहरुमा संक्रमण पुष्टि भयो । यसले के देखाउँछ भने क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको परीक्षण गराउनु आवश्यक छ ।’

दुई साता बसेकै भरमा ज्वरो मात्रै नापेर पठाउँदा समुदायमा जोखिम बढ्नेछ । क्वारेन्टाइनमा बसेकामध्ये ६४४ जना भने घर फर्किसकेका छन् ।

संक्रमितको सम्पर्कमा रहेका ५ जना जितपुर सिमरा उपमहानगरपालिकाको आइसोलेसनमा छन् । उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालबाट परीक्षण गरिसकिएको छ ।

प्रजिअ पण्डितका अनुसार बारामा अहिलेसम्म १२ जना संक्रमितमध्ये कलैया अस्पतालको आइसोलेसनमा ९ जना उपचाररत छन् । एक जना वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत छन् । दुई जना भने शनिबार मात्रै नारायणीबाट निको भएर डिस्चार्ज भएका छन् ।

जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत एक जना प्रहरी जवानमा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका २५ जना सुरक्षाकर्मी बालमन्दिरको आइसोलसेनमा रहेको प्रजिअ पण्डितले बताए । उनीहरुको परीक्षण भइसकेको छ ।

उनका अनुसार बारा जिल्लामा ४१३ जनाको पीसीआर र ३१६ जनाको आरडीटी परीक्षण गरिएको छ ।online khabar