कोरोना सँगको लडाई जितेर घर फर्किन बागलुङकी मनकुमारी

विकल्प न्यूज/बागलुङ
बैशाख ६ गते । 

कोरोना भाइरस विरुद्वको लडाईँ जितेर बागलुङकी एक बृद्धा १७ दिनपछि घर फर्किएकी छन् । बागलुङ नगरपालिका–३ गौँडाकोटकी ६५ बर्षिया मनकुमारी पौडेल धौलागिरी अञ्चल अस्पताल बागलुङबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् । उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबि राना मगरले फुल दिएर विदाई गरे ।

उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार डिस्चार्ज भएर घर फर्किएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र वि.पोखरेलले बताए । उनलाई परिवारका सदस्यहरु छोरा चिरञ्जीवि शर्मा, ज्वाईं गुरु प्रसाद कँडेल लगायतले अस्पतालबाट घर लिएर गएका हुन् ।
गत ४ चैतमा बेल्जियमबाट दोहाहुँदै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आइपुगेकी ती बृद्धामा २० चैतमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । त्यसपछि उनको धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको थियो । अस्पतालका अनुसार, उनले कठिन परिस्थितीका बिच कोरोनाको संक्रमणलाई जितेकी छन् । उनमा रहेको स्वासप्रस्वास र उच्च रक्तचापको समस्या बाहेक कुनैपनि औषधि प्रयोग नगरी उनले कोरोनाको संक्रमण जितेकी हुन् । पछिल्लोपटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शनिबार अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । उनको पछिल्लो स्वाब रिपोर्टमा संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको डा। पोखरेलले बताए । डिस्चार्ज भएकी उनलाई केही दिन होम क्वारेन्टाईनमा बस्न चिकित्सकहरुले सुझाएका छन् । ‘मैले पानी धेरै खाएँ, आज नुहाएको सास बढेको छ’ दमको पुरानै समस्या भएकी पौडेलले भनिन् ‘आज बरु गाह्रो भयो अरु दिन त मलाई सबैले सहयोग गर्नुभयो, मैले आत्माबल बढाएरै कोरोना जितेँ ।’ उनले सबैलाई धन्यवाद दिईन् ।

नेपालमा कोरोना संक्रमण भएर निको हुने उनी तेस्री बनिन् भने सबैभन्दा धेरै उमेरमा कोरोना संक्रमण भएर निको हुने पहिलो संक्रमित हुन् । कोरोना भाइरसको संक्रमणमा परेकी ६५ वर्षीया बृद्धाको परिवारका सदस्यहरुको यसअघि नै रिपोर्ट नेगेटिभ आइसकेको छ ।

उनको सम्पर्कमा आएका केही आफन्त तथा गाउँलेहरुको समेत आरडिटी र थ्रेड स्वाबको नमुना लिएर परीक्षण गरिएको थियो । सबैको रिपोट नेगेटिभ आएको छ ।
उनीसँगै बेल्जियमदेखि बागलुङसम्म एकैसाथ यात्रा गरेकी बागलुङकै १९ बर्षिया युवतीको भने अञ्चल अस्पतालमा उपचार चलिरहेको छ । उनको चौथो पटकको थ्रोट स्वाबको नतिजा समेत पोजेटिभ आएकाले उपचारको समयावधी थपिएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य छ ।

उनीसँगै कतारदेखि नेपाल आएकी काठमाण्डौकी १९ बर्षिया प्रसिद्वी श्रेष्ठ २७ दिनपछि शनिबारनै कोरोनालाई जितेर घर फर्किएकी छन् । उनी फ्रान्सबाट कतारहुँदै काठमाडौं आएकी थिईन् । दुवैजनाको ट्रान्जिट पछिको यात्रा कतार एयरवेजमा भएको थियो ।

यसअघि नेपालमा पहिलो कोभिड–१९ चीनको बुहानबाट फर्किएका पुरुष निको भएर घर फर्किसकेका छन् । उनलाई जनवरी २३ तारिख कोरोना पुष्टि भएको थियो ।

अहिलेसम्म नेपालमा ३० जनामा कोरोनाको पुष्टि भइसकेको छ । सबैभन्दा धेरै उदयपुरको मस्जिदमा बसेका १२ जनामा कोरोना पाइएको छ । नेपालमा कोरोना भेटिएकामध्ये १२ जनाको बिराटनगर, पाँच जनाको सेती अस्पताल, चार जनाको वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पताल, एक जनाको बागलुङमा र एक जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ । तस्विर पत्रकार हरिनारायण गौतमको फेसबुकबाट

dhorpatannews.com/