साधन राम्जाली /विकल्प न्यूज
असोज १ गते ।
पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीकी राधीका आचार्यको उमेर ६० बर्ष भयो । उमेरले ६ दशक भएपनि उहाँ नियमित विद्यालय जानहुन्छ । शिक्षकले दिएको गृहकार्य उहाँ नियमित रुपमा गर्नुपर्छ । विहान घरयासी र भान्छाको काम सकेर साढेँ १० बजे विद्यालय जाने हतारो राधीकालाई छ । विहान– बेलुकी घरको काम र दिनको समयमा विद्यालय । बुढेसकालमा यी कुराको व्यवस्थापन गर्न उहाँलाई भ्याइनभाइ छ । अझै चाडपर्व,कार्यक्रम पार्टी लगायतको समयमा त राधीकालाई धपडी नै पर्दछ ।
बुढेसकालमा लाउन खुवाउन उहाँलाई नपुग्दो केही छैन् । कमी छ त शिक्षाको । पहिले छोरीलाई पढ्न हुन्न भन्ने धारणा थियो । सानै उमेरमा बुबा आमाले विवाह गराइदिएपछि पढाईबाट बञ्चित भएँ उहाँले भन्नुभयो । विबाह पछिका दिनहरु राम्रै चलिरहेको थियो । छोराछोरी हुर्काउन,बढाउन र पढाउनमा समय गएको पत्तै भएन । समय वित्दै गयो । आमा समुह,विभिन्न संघ संस्थामा आवद्ध हुन थालेँ । अनि बल्ल शिक्षाको महत्व बुझन थाले राधीकाले भन्नुभयो ।
लेखपढ केही थिएन् । आमा समुह विभिन्न संघ संस्थामा नेतृत्व लिने उहाँको सपना भने लेखपढकै कारण अधुरै रह्यो । त्यही अधुरो सपनालाई पुरा गर्न आचार्य बुढेसकालमा विद्यालय जान थाल्नुभएको हो । उहाँ अहिले बेनी नगरपालिका ७ मंगलघाटमा संचालित उज्यालो शिक्षा बैकल्पिक माध्यामिक विद्यालयमा भर्ना भएर कक्षा पाँचमा पढ्नुहुन्छ ।
सामान्य लेखपढ,हिसाबकिताब,मोबाइल तथा बैंकिङ कारोबार सम्बन्धी आचार्यको सिक्ने चाहना विद्यालय धाउन थालेपछि पुरा भएको छ । विद्यालयमा पढ्न जान थालेपछि उहाँलाई हरेक कुरामा सहज हुँदै गएको छ । उहाँ भन्नुहुन्छ पहिले छोरीलाई पढाउन हुँदैन भन्ने सोचाईँ थियो ।घरयासी, वनपाखा खेती मेलापातमा हामीले समय वितायौं । सानै उमेरमा विवाह भयो विद्यालय जाने कुरै भएन् अहिले बुढेसकालमा विद्यालय आउन थालेकी छु । विद्यालय आउन थालेपछि सामान्य लेखपढ,हिसावकिताब, मोबाईल चलाउन र बैंकिङ कारोबार गर्न सहज भएको छ ।
यस्तै रघुगंगा गाउँपालिका ७ चिमखोलाकी भुलमाया पुन तिलिजा मगर पनि सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । उमेरले ६ दशक पुग्न थालेपनि उहाँको पढ्ने र सिक्ने चाहना भने युवाअवस्थाको छ । उहाँको बाल्य अवस्थामा गरिब,शिक्षाको कमी, चेतना कमीका कारण छोरीलाई पढाउनमा पहिले त्यती महत्व दिँदैन थिए अभिभावक ।
यसैको चपेटामा पर्नुभयो भुलमाया पनि । दुर्गम गाउँमा जन्मनुभएकी भुलमायाले पढ्ने सयममा घरयासी काम, खेती,मेलापात र वनपाखा गरेर समय बेतित गर्नुभयो । समय वित्दै गएपछि उहाँ पनि विभिन्न कार्यक्रम,संघ संस्थामा आवद्ध हुनुभयो । आवद्ध संघसंस्थामा नेतृत्व गर्ने अवसर पाएपनि उहाँले लिन चाहनुभएन । कारण थियो लेखपढको कमी ।
लेखपढ नभएकै कारण महत्वपुर्ण नेतृत्वबाट बञ्चित हुनुपरेपछी भुलमायालाई मनमा ठुलो पीडा प¥यो । संघ संस्थामा मात्र नभई सामान्य हिसाबकिताबमा पनि भुलमायाले लेखपढ नभएको अभाव महसुस गर्न थाल्नुभयो । र उज्यालो बैकल्पिकमा भर्ना हुनुभयो ।
विद्यालमा भर्ना भएर पढ्न थालेपछि उहाँले संघ संस्थमा नेतृत्व सम्हाल्नेदेखी लिएर घरमा नाति नातीनीलाई समेत बाह््खरी पढाउन सक्षम हुनुहुन्छ । सिक्ने इच्छा शक्ती भए उमेरले केही प्रभाव नपार्ने उहाँको भनाई छ । आचार्य र तिलिजा पुन मगर जस्तै ७६ बर्षिया लालकुमारी भण्डारी,६९ बर्षकी मनमाया बुढाथोकी सहित १२ जना आमाहरु सामान्य लेखपढ र मोबाईल चलाउन जान्नका लागि कक्षा एकमा भर्ना हुनुभएको छ ।
अन्य जस्तै पढाइबाट बञ्चित हुनुभएकी बेनपा ३ मुसुङकी ५४ बर्षिया दिलमाया पुन पनि सामान्य हिसाबकिताब र लेखपढ गर्न सक्ने अठोट लिएर विद्यालय भर्ना भएको बताउनुहुन्छ । कक्षा तीनमा अध्ययनरत पुनले आफुलाई परिवारले पनि साथ दिएको बताउनुयभो ।
कक्षा ८ मा पढाइ छोड्नुभएकी जिल्ला समन्वय समिति सदस्य धवलागिरी गाउँपालिका ३ मुनाकी रामदेबी पुन अहिले कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ ।
विचैमा विद्यालय छोड्नुभएकी पुनले एसईई पास गर्ने लक्षय रहेको बताउनुभयो । वातावरण मिलेसम्म उच्च शिक्षासम्म पनि पढ्ने धोको रहेको उहाँले सुनाउनुभयो ।
सामान्य बालबालिकालाई भन्दा आमाहरुलाई पढाउन सहज हुने शिक्षिका सुजता खत्रीको अनुभव छ । घरको व्यवहारलाई त्यागेर पढ्न विद्यालय आउनुभएकाले हामीलाई पनि आमाहरु पढाउन गर्व महसुस हुने गरेको शिक्षीका खत्रीले बताउनुभयो ।
२०७२ सालमा स्थापना भएको उज्यालो बैकल्पिकमा एक देखी ९ सम्म पठनपाठन हुने गरेको छ । आफ्नै पाठ्यक्रम अनुसार पढाई हुने विद्यालयमा ६८ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयकी सहकर्ता रिता गर्बुजाले जानकारी दिनुभयो । उहाँका अनुसार २२ बर्ष देखी ७० बर्ष सम्मका आमाहरु भर्ना भएर पढ्न थाल्नुभएको छ ।
चन्दा र सहयोगबाट विद्यालय सञ्चालन गर्दै आएको व्यवस्थापन समितिका सचिव लोकेश पुन मगरले बताउनुभयो । उहाँका अनुसार सात जना शिक्षक र एक जना सहजकर्ता गरी विद्यालयमा ८ जना कर्मचारी कार्यरत रहेको बताउनुभयो । आन्तरिक प्रशासन संचालनका लागि मासिक एक लाख ५० हजार रुपैयाँ बढी आर्थिक खर्च हुने सचिव पुन मगरले जानकारी दिनुभयो ।
विद्यालयमा लाइब्रेरी,कम्प्युटर तथा साइन्स ल्याब संचालनका लागि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट १७ लाख रुपैयाँ बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो । महिला विकासको भवन मर्मत गरी विद्यालय संचालनमा ल्याइएको विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।
बेनी सामुदायिक माध्यामिक विद्यालयको सिफारिसमा विद्यालय संचालनको अनुमति प्राप्त गरेको बताउनुहुँदै नगर शिक्षाबाट अनुमति लिने तयारी अन्तिम चरणमा रहेको कार्यवाहक अध्यक्ष शाक्यको भनाइ छ । चन्दाको भरमा विद्यालय संचालन हुँदै आएको विद्यालयमा दरबन्दी अभावमा आर्थिक समस्या हुने गरेको उहाँले बताउनुभयो ।
पढ्न नपाएका र विद्यालय जान नसक्ने आमाहरुका लागि विकल्पको रुपमा विद्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । विद्यालयमा कक्षा दश सम्म क्षमता बढाउने लक्ष्य रहेको कार्यवाहक अध्यक्ष शाक्यले बताउनुभयो ।
साथै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन र आमाहरुलाई जिल्लामा रहेका हिमालको बारेमा जान्न सहज होस् भनि कक्षा कोठ पनि हिमालको नामबाट नामकरण गरिएको कार्यवाहक अध्यक्ष शाक्य बताउनुहुन्छ । स्थानीय सरकारले दरबन्दी सृजना गरिदिएमा विद्यालय संचालनमा सहज हुने उहाँले बताउनुभयो । नवविकल्प साप्ताहिकमा प्रकाशित