साधन राम्जाली /विकल्प न्यूज
भ्दौं २० गते ।
२०६५ सालमा डकबहादुर रोका २५ बर्ष उमेरको हुनुहुन्थ्यो । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँ निवासी डकबहादुर पेशाले शिक्षक । बेनी बजारमा डेरा लिएर बस्नुभएको थियो । जिवनयापन राम्रै संग चलिरहेको थियो । अध्यापन र अध्ययनलाई निरन्तरता दिनुभएको थियो । अचानक एक दिन उहाँको दुबै खुट्टामा खटिरा देखिए ।
पहिले सामान्य देखिए पनि खटिरा अस्वभाविक रुपमा बढ्ढै गएपछि २५ बर्षिय डकबहादुर आत्तिनुभयो । खटीराको उपचारका लागि उहाँ पोखरा पुग्नुभयो । उहाँलाई जचाँएको मिति ठ्याक्कै याद छैन् । अस्पतालले प्रेसर हाई बताउँदै औषधि लेखिदिए पछि १५ दिनका लागि औषधि किनेर डकबहादुर घर फर्किनुभयो । डाक्टरले भनेझै नियमित औषधि सेवन पश्चात फेरी औषधि लिन पोखरा जानुभयो ।
अस्पतालले सामान्य रोग हो भनेपछि डकबहादुर ढुक्क भएर घर फर्किनुभयो । घर फर्किएको केही समयमा आँखामा समस्या देखियो । आँखामा देखिएको समस्या जचाँउन उहाँ फेरी अस्पताल जानुभयो । आँखाको सामान्य उपचार पछि चिकित्सकले मृगौलामा समस्यामा भएको हुनसक्ने भन्दै जचाँउन काठमाण्डौ जान सु्झाए उहाँले भन्नुभयो, ‘डाक्टरले नसोचेको रोग सुनाइदिएपछि म छाँगाबाट खसेजस्तै भएँ ।’
डाक्टरले दिएको रिपार्टले डकबहादुरको जिवनमा ठुलो बज्रपात ल्याइदियो । जमिन भासिए झै भयो मनमा हरेक कुराहरु खेल्न थाले घरमा सुनाउने कि नसुनाउने दोधारमा परेँ – उहाँले भन्नुभयो । दोधारकै विच निर्णय लिएँ उहाँले भन्नुभयो ‘ आफूलाई लागेको रोगको बारेमा कसैलाई भन्दिन ।’ आफ्नो कारणले कसैलाई दुःख नदिने उहाँको सोचाई थियो । आफुलाई लागेको रोगको बारेमा घरमा सुनाएँ भने गरिब आमाबाबा माथि ठुलोे बज्रपात पर्छ लागेर उहाँले रोगका वारेमा कसैलाई पनि नभन्ने निधो गर्नुभयो ।
आमाबाबालाई पीडा नदिने सोचेपछि मेरो रोगको बारेमा उहाँहरुलाई भन्ने हिम्मत पनि गरिन ,उहाँले सुनाउनुभयो । म मरेपनि आमाबाबालाई पाल्ने अझै दुई दाजुभाई त हुनुहुन्छ भन्ने लागेपछि यसरी नै मर्छु भनी रोगको बारेमा कसैलाई सुनाइन । भावुक हुँदै उहाँले आफ्नो व्यथा सुनाउनुभयो ।
घरमा आर्थिक अवस्था कमजोर थियो । घरखेत सबै बिक्री गरे पनि मेरो रोगको उपचार खर्च पुग्ने सम्भव थिएन । आर्थिक अवस्था कमजोर भएका परिवारलाई के पीडा दिनु भनेर रोगको बारेमा कसैलाई पनि भनिन । लुकाएर बसेँ । ‘घरखेत सबै जायजेथा बेचेर पनि मेरो उपचार खर्च जुटाउन नसक्ने स्थिती देखिए पछि मैले उपचार गर्ने आशा मारिदिए,’ उहाँले भन्नुभयो । जिउने आशा मरिसकेको थियो ,अचानक रोगले च्याप्न थाल्यो घरकाले विरामी भएको थाहा पाएपछि अस्पताल लगे । अस्पताल गएपछि परिवार सबैलाई मेरो रोगको बारेमा थाहा भयो । उहाँहरु उपचार खर्च जोहो गर्नतिर लाग्नुभयो ।
अस्पतालमा मृगौलाको डाइलेसीस गराइरहेको थिएँ । यसै क्रममा परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य दाजु अस्पतालमै भेट्न आउनुभयो । आर्थिक अभावका कारण तिम्रो मृत्यु हुन हामी दिन्नौं भन्दा मेरो आँखाबाट बरर आशु झरेँ । बाच्ने आशा पलायो ।
उहाँले सुनाउनुभयो । शाक्य म्याग्दी फर्किएपछि स्थानीय देउराली युवाक्लब र शान्तिकोषले डक बहादुर बचाउ अभियान सुरु गर्नुभएछ । देश विदेशमा रहेका परोपकारी मनका धनीहरुले अभियानमा सहयोग गर्नुभयो । आज म जुन अवस्थामा फर्किएको छु यो कोषको साथ र सहयोगले नै हो उहाँले भन्नुभयो ।
उपचारका लागि रकम संकलन भएपछि २०७३ बैशाख ८ गते आमा केशरी (गोरी) ले मृगौला दान दिन तयार हुनुभयो । मृगौला दिन आमा तयार भएपछि कोष र देउराली युवाक्लबले संकलन गरेको १७ लाख ६५ हजार ३ सय ७६ रुपैयाँ सहयोग तथा ऋण, आफन्तले दिएको सहयोग गरी करिब २५ लाख रुपैयाँमा डकबहादुरको उपचार भयो । अहिले डकबहादुर बुद्ध एकेडेमीमा कम्प्युटर अपरेटर शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । नवविकल्प साप्ताहिकमा प्रकाशित