विकल्प न्यूज\बेनी
चैत २२ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा आफ्नो जन्म गाउँ चिमखोलामा वृहत घुम्ती शिविर लैजानु भएको छ । सरकारी सेवा सुविधा सहित कृषि र पशुपालनका विज्ञ सहितको टोली लिएर मन्त्री थापा चिमखोला पुग्नु भएको हो ।
रघुगंगा गाउँपालिका ७ चिमखोलामा बिहीबारदेखि एकिकृत घुम्ति शिविर सुरु भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा कोष, जिल्ला प्रशासन कार्यालयको आयोजना र रघुगंगा गाउँपालिकाको व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो ।
दुई दिनसम्म सञ्चालन हुने शिविरमा नागरिकता, अपाङ्गता परिचयपत्र वितरण, तस्विर सहितको मतदाता नामावली दर्ता, स्वास्थ्य र पशु स्वास्थ्य सम्बन्धि सेवा प्रवाह हुने जनाइएको छ । शिविरको पहिलो दिन जिल्ला निर्वाचन कार्यालयको टोलीले १३ जना पुरुष र १७ जना महिलाको तस्बिर सहितको मतदाता नामावली दर्ता गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले २९ वटा नयाँ र १३ वटा प्रतिलिपि नागरिकता वितरण गरेको छ । स्वास्थ्य सेवा कोष मार्फत सञ्चालित विशेषज्ञ स्वास्थ्य शिविरमा ३१० जनाले स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी उपचार सेवा पाएका छन् ।
शुक्रबार रघुगंगा गाउँपालिकाको भगवतीमा सो स्वास्थ्य शिविर सञ्चालन हुने जनाइएको छ । गाउँपालिकाले ५१ जनालाई जेष्ठ नागरिक, दुई जनालाई ख र दुई जनालाई ग वर्गको अपाङ्गता परिचयपत्र वितरण गरेको छ । १२ जनाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि बेरोजगार फारम भरेका छन् ।
भेटिरीनरी अस्पताल तथा पसु सेवा विज्ञ केन्द्रको टोलीले १२८ जना कृषकको पाँच हजार २४४ पशुपक्षीको स्वास्थ्य परिक्षण र औषधी वितरण गरेको छ । शिविरकै अवसरमा कृषि, पशुपालन र वन उद्यम सम्बन्धी गोष्ठि पनि गरिएको छ ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्रमुख तुलबहादुर पुन, मत्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख अग्नीप्रसाद नेपाल, मेगा प्रोजेक्ट्सका डाक्टर लक्ष्मण ढकाल, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराका निर्देशक मनबहादुर पुनले गोष्ठिको सहजिकरण गर्नुभएको थियो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको स्वागत र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले उद्घाटन गर्नुभएको कार्यक्रमको सञ्चालन मन्त्रीको निजी सचिवालयका सदस्य गमबहादुर पुनले गर्नुभएको थियो ।
कार्यक्रममा प्रजीअ लीलाधर अधिकारी र वडा अध्यक्ष देउबहादुर पुनले दुर्गम, ग्रामिण क्षेत्रका अशक्त, गरिव, विपन्न नागरिकका लागि शिविर उपयोगी बन्ने बताउनुभयो । शिविरमा चिमखोला, दर्मीजा, रायखोर, कुइनेमंगलेका बासिन्दाले सेवा लिने जनाइएको छ ।शिविरको उद्घाटन गर्ने मन्त्री थापाले सरकारले जतिनै बजेट, योजना र कार्यक्रम ल्याएपनि त्यसको सदुपयोग र प्रभावकारी परिचालनका लागि समुदायको सक्रियता र चासोको आवश्यकता रहेको बताउनुभयो । चिमखोला मन्त्री थापाको जन्मथलो हो ।
उहाँले जिल्ला र आफू जन्मिएको ठाउँको विकासका लागि बजेट, योजना र कार्यक्रम ल्याउन महत्व र प्राथमिकता दिएको बताउनुभयो । उहाँले आफूकहाँ म्याग्दीको समस्या, विकास र जनताको आवश्यकताका बारेमा मागनै नआएको गुनासो गर्नुभयो ।
‘तपाइहरु गुनासो, समस्या र आवश्यकता ल्याएर आउदै आउनुभएन्,’ मन्त्री थापाले भन्नुभयो ‘योजना बनाएर आउनुहोस बजेटको व्यवस्था गर्ने दायित्व मेरो भयो । ढुक्क हुनुहोस ।’ मन्त्री थापाले दग्नाम देखि दर्मीजा हुदै चिमखोला जोड्ने सडकको ट्याक खोल्न दुई करोड रुपैयाँ बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।
चिमखोलालाई समेटेको धौलागिरी आइसफल पदमार्गको डिपिआर बनाउन आफू यसअघि सांसद हुँदा पहल गरेको स्मरण गर्दै उहाँले अहिले त्यसलाई पूर्वाधार निर्माण गरेर सञ्चालनका लागि पहल गरिएको बताउनुभयो ।युवाहरुलाई स्वदेशमै स्वरोजगार बनेर बिदेशिने समस्या न्युनीकरणका लागि माछापालन, लोत्ता प्रशोधन, जडिवुटी खेती जस्ता कार्यक्रम सञ्चालन गर्न सकिने बताउनुभयो । उद्यम व्यवसाय गर्ने युवाहरुलाई सरकारले तालिम, अनुदान र सहुलियत ब्याजदरको ऋणको सुबिधा दिने बताउनुभयो ।