ताजा समाचार:
Search

मंगलामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु(फोटोसहित)

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, फागुन ७ गते ।  ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा मङ्गलबारदेखि प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना र मंगला खेलकुद विकास समिति बाबियाचौरको व्यवस्थापनमा अन्तर माध्यमिक विद्यालय छात्रछात्रास्तरीय प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले खेल क्षेत्रको विकासमा जोड दिनुपर्ने बताएका छन् । उनले मंगला गाउँपालिका खेलकुदलगायत हरेक क्षेत्रमा अब्बल रहेको बताउँदै खेलकुदको माध्यमबाट उत्कृष्ट खेलाडीहरु उत्पादन गर्नुपर्ने बताए । सदरमुकाममा केन्द्रीत खेलकुुुदजन्य गतिविधिहरु सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय तहमा आएको हुँदा यसलाई भरपुर रुपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ ।   म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जिल्ला, प्रदेश र राष्ट्रलाई चिनाउनका लागि खेलकुद क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै अनुशासनको पालना गरेर खेल खेल्न सुझाव दिएका थिए । मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल प्रतिभाहरुको प्रतिभा प्रस्फुटन गराउनका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । 

गाउँपालिका अध्यक्ष सतप्रसाद रोका र उपाध्यक्ष सिर्जना केसीले खेल क्षेत्रको विकास र व्यवसायिक खेलाडी उत्पादनका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको बताएका छन् । गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षता, उपाध्यक्ष केसीको स्वागत र स्रोतव्यक्ति तथा मंगला गाउँपालिका शिक्षा संयोजक डेकबहादुर बानियाँको सञ्चालनमा सम्पन्न उद्घाटनसत्रमा मंगला खेलकुद विकास समिति अध्यक्ष श्यामसुन्दर कँडेलले मन्तव्य राखेका थिए । 

औपचारिक कार्यक्रम सुरु हुनुपूर्व सामुदायिक तथा निजी विद्यालय, जातीय संघसंस्था, जनप्रतिनिधि, स्थानीय, बजारवासी, सरोकारवाला सहभागी नौमती पञ्चेबाजासहितको ¥यालीले बाबियाचौर बजार क्षेत्रको परिक्रमा गरेको थियो । 

तीन दिनसम्म चल्ने गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७५ मा गाउँपालिकामा रहेका विभिन्न ८ ओटा विद्यालयहरुले सहभागिता जनाएका छन् । प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, कबड्डी अन्तर्गत दौड प्रतियोगितालगायत आयोजना गरिएको छ । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ । यसैगरी विभिन्न विधा अन्तर्गत उत्कृष्ट हुने विद्यालय तथा खेलाडीहरुलाई पनि मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने बताइएको छ । यसैबीच उद्घाटन खेलमा १५ सय मिटरको छात्र दौडतर्फ दीपशिखा मावि कुहुँका मनबहादुर किसान प्रथम, मंगला मावि बाबियाचौरका सुजन घर्ती द्वितीय र महेन्द्ररत्न मावि बराङ्जाका हरिचन्द्र रोका तृतीय भएका छन् । यसैगरी छात्रा १५ सय मिटरको दौडतर्फ दीपशिखा माविकै एन्जिला खत्री प्रथम, मंगला मावि बाबियाचौरका मिना गिरी द्वितीय र त्रिभूवन मंगला मावि ¥यालेखोरका अमृता खत्री तृतीय भएका थिए ।