सन्तोष गौतम /विकल्प न्यूज
साउन १६ गते ।
बेनीमा ठगको गिरोहले करोडौ डुबाएपछि सर्वसाधारणको बिचल्ली भएको छ । गैरकानुनी मानिएको “मिटर ब्याज” र सापटीको रुपमा ठगको गिरोह मार्फत भएको करोडौ डुबेपछि सामाजिक, आर्थिक बिचलन र अपराधको जोखिम बढेको छ ।सापटी दिएको पैसा बर्षौसम्म फिर्ता नभएपछि सर्वसाधारण न्यायीक समिति, सामुदायिक प्रहरी र कानुन व्यवसायी कहाँ धाउन थालेका छन् । धेरै ब्याज पाउने आशा र मिठो बोलीबचनबाट प्रभावित भएर सहज रुपमा आफूसंगै भएको पैसा विश्वास गरेर कुनै कागजात समेत नगरी दिएपनि असुल उपर हुन नसकेपछि उजुरी र गुनासो गर्न आउन थालेका बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले बताउनुभयो ।
नगरपालिकाको न्यायीक समितिको संयोजक समेत रहनुभएकी उपप्रमुख बरुवालले ठगी सम्बन्धि एउटा उजुरी परेको, २२÷२३ जना पीडितहरु सम्र्पकमा आएको बताउनुभयो । करिब तिन करोड रुपियाँ डुबेको प्रारम्भिक विवरण संकलन गरीएको जानकारी दिनुभयो ।
“चार, पाँच वर्ष अघिदेखिनै अबैध धन्दा चलेको भन्ने सुनिएको थियो तर अहिले पीडा लुकाएर बसेकाहरु सम्र्पकमा आउन थालेका छन” उपप्रमुख बरुवालले भन्नुभयो । मासिक चर्को ब्याज रकम रहेको मिटर ब्याजमा भएको लगानी उठ्न नसकेपछि कतिपयले घर छोडेर सम्र्पक बिहीन भएका छन् । “मिटर ब्याजको धन्दाले आफन्त, साथीभाई, परिवारमा बिलाप निम्याएको छ” म्याग्दीकी महिला अगुवा बिमला गौचनले भन्नुभयो “भएको घर, जग्गाको सखाप मात्र भएको छैन कतिको परिवारनै बिखण्डनको अवस्था आएको छ ।”
आपसी समझदारीमा बजारमा चलेको भन्दा बढी ब्याज दिने बाहनामा कागज पनि नबनाएका, बैङ्क, सहरकारी मार्फत नभई नगदनै बुझाएकाहरु अप्ठ्यारोमा परेका छन् । मासिक दुई देखि पाँच प्रतिशत ब्याजदरमा सापटीको रुपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको भुमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रिम बिस प्रतिशत रकम कटौती गरि दिने र हरेक महिना पूरै साँवा रकमको दश देखि २३ प्रतिशतसम्म ब्याज असुली गरेको पाईएको छ ।
बैङ्क, वित्तिय संस्था र सहकारीले भन्दा बढी ब्याज दिने र पाउने प्रलोभनमा परेर साथमा पैसा भएपनि आर्थिक कारोबार सम्बन्धि ज्ञान नभएका धेरैजसो महिलाहरुले रकम डुबाएको कानुन व्यवसायी ठहरबहादुर भण्डारीले बताउनुभयो । विदेशबाट आएको रेमिटेन्स, ढुकुटी बझेर, बैङ्कमा घरजग्गा धितो राखेर मिटर ब्याजमा लगाउने पाईएको छ ।
यस्तो अबैध कारोबारको नेतृत्व गर्ने र ठगीनेमा पुरुष भन्दा बढी महिलाहरु छन् । वैदेशिक रोजगारीमा जाने, जुवातास खेल्ने, जडिवुटी ब्यापारी, घरजग्गा कारोबारीहरु ब्यापारीहरुले मिटर ब्याजको ऋण लिने पाइएको छ । मासिक रुपमा ब्याज र भनेको समयमा ऋण तिर्न नसकेपछि बिवाद बढेर लेनदेन मुद्दाको रुपमा प्रहरी, अदालत पुग्ने गरेका छन् ।
सहमतीमा ऋण लेनदेन गरेर समयमै फिर्ता नभएपछि ठगी ग¥यो भनेर गुनासो गर्न आउने क्रम बढेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । गैरबैङ्कीङ क्षेत्रबाट भएको आर्थिक कारोबारले सामाजिक र आर्थिक बिचलनको समस्या बढाएको उहाँले बताउनुभयो । लेनदेनको मुद्दा हेर्ने अधिकार अदालतलाई मात्र भएकाले न्यायीक समिति, सामुदायिक प्रहरी, प्रहरी, प्रशासनमा सहमतीको प्रयास भएपनि कुरा नमिलेपछि उनिहरुले त्यस्ता मुद्दामा अदालत जान सुझाउने गरेका छन् । चेक र रेमिट मार्फत कारोबार गर्नेले त्यसैलाई आधार बनाएर मुद्दा हाल्ने गरेका छन् ।
गत हप्ता जिल्ला प्रशासनमा भएको छलफलमा ठगी धन्दा गिरोहमा संलग्न एक महिलाले प्रजिअकै कार्यकक्षमा अश्लिल र अपशब्द प्रयोग गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक अपराधको मुद्दा चलाएको छ ।
शुक्रबार सरकारी वकिलको कार्यालयमा भएको छलफलमा ति महिलाले पैसा सापटी लिएर घरजग्गामा लगानी गरेको, बैङ्कले रोक्का गरेकाले बिक्री गर्न नसकेको, बिक्री गरेपछि फिर्ता दिने बताउदै दुई तिन वर्ष पर्खीएर सहयोग गर्न आग्रह गरेकी थिईन् ।
पीडितहरुले तत्कालै रकम चाहिने, कागज गर्नुपर्ने र सुरक्षाको ग्यारेन्टी हुनुपर्ने अडानमा भएपछि सहमती जुट्न सकेको थिएन् । सामाजिक रुपमा प्रतिष्ठीत भनिएका व्यक्तिलाई विश्वासका आधारमा पैसा सहयोग गरेपनि समयमा फिर्ता नगर्ने, थर्काउने, धम्काउने, तनाव र दुःख दिने गरेको पीडित सुनबहादुर विश्वकर्माले बताउनुभयो ।
जिल्ला अदालत म्याग्दीमा आर्थिक वर्ष २०७३७४ मा ४२ वटा लेनदेन सम्बन्धि मुद्दा परेकोमा २८ वटाको फैसला भएको थियो । आर्थिक वर्ष २०७४७५ मा लेनदेन सम्बन्धि ४६ वटा मुद्दा परेकोमा ३६ वटाको फैसला भएको अदालतले जनाएको छ ।
मानिसहरु बढी ब्याज पाउने लोभमा मिटर ब्याजमा लगानी गर्दा बैङ्क, वित्तिय र सहकारी संस्थाको निक्षेप संकलनलाई असर पार्ने गरेको छ । यसैगरी कर्जा लिएर मिटर ब्याजमा लगाउनेहरुले समयमै ब्याज र किस्ता तिर्न नसक्दा पनि बैङ्कीङ क्षेत्रको कारोबारलाई असर पुगेको हो ।
मिटर ब्याजमा लगानी गरेको पैसा फिर्ता नआएपछि श्रीमान श्रीमतीबीच बिवाद भई उत्पन्न पारिवारीक बिवादले सम्बन्ध बिच्छेदको समेत रुप लिएको कानुन व्यवसायी ठहरवहादुर भण्डारीले बताउनुभयो । परिवारमा एउटाले गरेको लगानी फसेपछि ऋण तिर्न र मुद्दाबाट जोगीनका लागि ब्यवहारमा संगै बसेपनि कानुनी हिसाबले सम्बन्ध बिच्छेद गर्नेहरु पनि भेटिएका छन् ।
बढ्दो आर्थिक बिचलनको समस्या न्युनीकरणका लागि समुदायमा आर्थिक कारोबार सम्बन्धि कानुनी सचेतना, बैङ्क तथा वित्तिय संस्थाको पहुँच वृद्धि र उनिहरुले दिने सेवा सुबिधाको बारेमा जानकारी गराउन, बैङ्क मार्फत कारोबार गर्न आकर्षीत बनाउनुपर्ने कानुन व्यवसायी भण्डारीको सुझाव छ । नवविकल्प साप्ताहिकमा प्रकाशित