प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, असार १७ ।
म्याग्दीको सदरमुकाम बेनीमा आइतबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिहरुका लागि लैङ्गिक हिंसा निवारणसम्बन्धी अभियानको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालय महिला तथा बालबालिका विभागको आयोजनामा जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा लैङ्गिक हिंसाका विविध रुप र समाधानका प्रयासहरु, न्यायिक समितिको भूमिका, स्थानीय शासन ऐन–२०७४ का विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रमको अवसरमा मान्छे बोक्सी हुन सक्दैन भन्ने सन्देशमूलक लघुचलचित्र अग्नीदह प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।
विगतमा महिला तथा बालबालिका कार्यालयमार्फत सम्पादन हुँदै आइरहेका कार्यक्रमहरु परिवर्तित सन्दर्भमा अब स्थानीय तहको जिम्मेवारीमा पुगेकाले स्थानीय सरकारले गर्नुपर्ने अवस्था रहेको छ । कार्यक्रमको महिला तथा बालबालिका विभागका उपसचिव शान्ता भट्टराई, महिला विकास निरीक्षक निर्मला रेग्मी, प्रशिक्षक विष्णु ओझा, पार्वती रावत र कलाकार विष्णु बाँस्तोलाले सहजीकरण गरेका थिए ।
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीको अध्यक्षता र महिला तथा बालबालिका विभागका शाखा अधिकृत सावित्री पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले मन्तव्य राखेका थिए । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।