सन्तोष गौतम/विकल्प न्यूज
बेनी १६ असार ।म्याग्दीका स्थानीय तहका न्यायीक समितिका पदाधीकारी तथा कर्मचारीहरुका लागि बेनीमा शनिबारदेखि प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
जिल्ला समन्वय समितिले न्यायीक समितिका पदाधीकारीहरुको क्षमत्ता विकास गरी उनिहरुको काम कारबाहीलाई प्रभावकारी बनाउन सघाउने उद्देश्यले तालीमको सञ्चालन गरेको हो ।
तिन दिनसम्म सञ्चालन हुने तालीममा न्यायीक समितिको काम, कर्तब्य र अधिकार, मुद्दाको सुनुवाई, फैसला, मेलमिलाप लगायतको सैद्धान्तिक ज्ञान सीप प्रदान गरिने जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताउनुभयो ।
बेनी नगरपालिकाका उपप्रमुख, धौलागिरी, मालीका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका अन्य दुई, दुई जना सदस्यहरु सहभागी तालीमको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभएको थियो ।
तालीमको उद्घाटन गर्नुहुदै जिसस प्रमुख केसीले न्यायीक समितिलाई क्रियाशिल र प्रभावकारी बनाउन तालीम सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले न्यायीक समितिमा मुद्दाको चाप बढेको बताउँदै ईजलासको आवश्यकता रहेको बताउनुभयो ।
जिसस प्रमुख केसीको अध्यक्षता, समन्वय अधिकारी सुवेदीको स्वागत र शाखा अधिकृत गोविन्द सुनारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्षको नेतृत्वमा न्यायीक समिति रहने संवैधानीक व्यवस्था छ ।
समितिले संबिधानले दिएको क्षेत्राधिकारमा रहेर बिवाद, झैझगडा सम्बन्धि मुद्दाको उजुरी लिने, छलफलको माध्यमबाट मेलमिलाप गराउने र थप कारबाहीका लागि अदातल पढाउन सक्ने व्यवस्था छ । म्याग्दीका सबै स्थानीय तहले न्यायीक समितिलाई पूर्णता दिएर उजुरीको किनारा लगाउने सम्बन्धि कानुन पनी बनाएका छन् ।