सन्तोष गौतम/विकल्प न्यूज
बेनी १६ असार ।
नेपाली काँग्रेस म्याग्दीको जिल्ला कार्यसमिति निर्वाचित भएको अढाई वर्षपछि पूर्णता पाएको छ । वि.स २०७२ चैतमा चयन भएको अधिवेशनबाट निर्वाचित काँग्रेसको जिल्ला कार्यसमितिमा शनिबार उपसभापति, सहसचिव र प्रवक्ता चयन गरिएको हो । नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाको अध्यक्षतामा बेनी स्थित पार्टी कार्यालयमा बसेको बैठकले उपसभापतिमा माधवप्रसाद रेग्मी, सहसचिवमा भरत रकाल र प्रवक्तामा अजयमिलन श्रेष्ठलाई चयन गर्ने निर्णय गरेको हो ।
उपसभापतिमा चयन हुनुभएका रेग्मी यसअघि एक कार्यकाल सचिव र दुई कार्यकाल महाधिवेशन प्रतिनिधि, प्रवक्ता श्रेष्ठ सहसचिव र सहसचिव रकाल नेविसंघको जिल्ला सभापति तथा काँग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । बैठकले मंगला गाउँपालिकाको बरंजाका लालबहादर रोका र धौलागिरी गाउँपालिका ७ धारापानीका तेजेन्द्र थापालाई आमन्त्रीत सदस्यमा मनोनित गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।