२६ बुँदे मागसहित शिक्षक महासंघले ज्ञापनपत्र बुझायो

प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, जेठ १३ ।IMG_7132विभिन्न २६ बुँदे मागसहित नेपाल शिक्षक महासंघ म्याग्दीले आइतबार ज्ञापनपत्र बुझाएको छ । शिक्षकहरुको पेशागत हकहित तथा शैक्षिक व्यवस्थापन सुधार गर्नुपर्ने माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाइएको हो ।
नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आबद्ध विभिन्न संघ सङ्गठनले शिक्षकको हक अधिकार तथा शैक्षिक सुधार गर्नुपर्ने बताउँदै ज्ञापनपत्र बुझाएको बताएका छन् । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीको कार्यालयमा उनीहरुले ध्यानाकर्षणसहित विभिन्न किसिमका मागहरु समेटिएको ज्ञापनपत्र बुझाएको नेपाल शिक्षक महासंघ म्याग्दीले जनाएको छ ।
नेपाल शिक्षक संघका अध्यक्ष एवं शिक्षक महासंघ अधिवेशन आयोजक समितिका संयोजक दुर्गाराम सुवेदी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष जयराम सुवेदी, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन म्याग्दीका वरिष्ठ उपाध्यक्ष यामबहादुर जिसी र अखिल नेपाल शिक्षक सङ्गठनका कार्यवाहक अध्यक्ष थमबहादुर पुनले हस्ताक्षर गरेको ज्ञापनपत्र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामकुमार श्रेष्ठलाई बुझाइएको छ ।
ज्ञापनपत्रमा पटकपटक तोकेर पनि स्थगित भएको अस्थायी शिक्षकहरुको परीक्षा हुनुपर्ने, स्थानीय तहले आफू खुशी गरेको कार्यविधि, नियमावली तथा ऐनको कार्यान्वयन रोक्नुपर्ने, शिक्षकको तलब भत्ताको निर्धारण, त्यसको दायित्व र जिम्मेवारी स्थानीय सरकारलाई हुनुपर्ने, शिक्षक काउन्सिलको व्यवस्था गर्नुपर्ने, दशवर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकको सामूहिक पदोन्नतिको व्यवस्था गर्नुपर्ने मागहरु राखिएको छ ।
यसैगरी शिक्षकहरुले राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तरण गरी उक्त दरबन्दीमा कार्यरत शिक्षकहरुको स्थायीको प्रक्रिया अघि बढाउनुपर्ने, शिक्षक तथा विद्यालय कर्मचारीको समयसापेक्ष तलब वृद्धि गर्नुपर्ने, संवैधानिक शिक्षा आयोग गठन गर्नुपर्ने र महिला शिक्षकको प्रसुती विदा ६ महिना दिनुपर्ने मागहरु राखेका छन् । ज्ञापनपत्र बुझ्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामकुमार श्रेष्ठले शिक्षकले उठाएको माग जायज भएको बताउँदै परिवर्तित सन्दर्भमा स्थानीय तहले शैक्षिक समस्याको समाधानको पहल गर्नुपर्ने बताए ।