बेनीमा पर्यटन सूचना केन्द्र सञ्चालन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३१ बैशाख ।DSC_1184म्याग्दी प्रवेशद्धारको रुपमा रहेको कालीपुल बसपार्कमा विद्युतीय (डिजीटल) सूचना केन्द्र स्थापना भएको छ । जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क राख्ने र धार्मिक तथा पर्यटकीय स्थलको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले सूचना केन्द्रको स्थापना गरेको हो ।
बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डको सहयोगमा स्थापीत सूचना केन्द्रमा समग्र म्याग्दीलाई हेर्न र बुझ्न सकिने पर्यटन सूचना केन्द्रका संयोजक एवं म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । DSC_1175डिजिटल सूचना केन्द्रको अवधारणालाई मध्यनजर गरी स्थापना गरिएको सूचना केन्द्रमा जिल्लाभरका पुराना र नयाँ पदमार्गको सम्पूर्ण विवरण, छ दशक अगाडि खिचिएका म्याग्दीका तस्वीर, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकसहित जिल्लावासीको पहिचान झल्कने तस्वीरसहित स्मार्ट टिभी, निःशुल्क इन्टरनेटसहित विभिन्न सूचना राखिएको छ ।

सूचना केन्द्रले पर्यटकलाई सूचना प्राप्त गर्न सहज हुने तथा पर्यटन व्यवसायीले समेत प्रचारप्रसारमा सहज हुने म्याग्दी भ्रमण वर्षका मूल संयोजक एवं म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।

केन्द्रको आईतबार उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले म्याग्दीलाई चिनाउन र पर्यटकीय स्थलको प्रचारप्रसारमा सूचना केन्द्र सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । सूचना केन्द्रले पर्यटकीय क्षेत्रमा पुगेका पर्यटकको सूचना राख्ने र आवश्यकताअनुसार उद्धारमा समेत तत्काल सूचना प्रवाह गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।  DSC_1173सूचना केन्द्रमा कर्मचारीको समेत व्यवस्था गरिएको छ । भित्तामा राखिएका तस्वीर, एलडीबाट देखाइएका भिडियो बाहेक पनि आवश्यकता अनुसार गुगल नक्साबाट समेत पर्यटकलाई रुटको पहिचान गर्न सहजीकरण गरिने छ ।

चार वर्षअघि तत्कालीन जिल्ला विकास समितिले निर्माण गरेको भवन प्रयोगमा आउन सकेको थिएन् । उद्योग वाणिज्य संघले भ्रमण वर्षको मर्मत, रंगरोगन र आवश्यक पूर्वाधारको व्यवस्था गरेर सूचना केन्द्र सञ्चालन गरेको हो । DSC_1178सूचना केन्द्रका लागि नेपाल पर्यटन बोर्डबाट दुई लाख रुपैया सहयोग प्राप्त भएको संघका प्रथम उपाध्यक्ष तथा भ्रमण वर्षको प्रचारप्रसार समितिका संयोजक सुबिन श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईका अध्यक्ष प्रकाश कार्कीले संस्थाको तर्फबाट सूचना केन्द्रमा ईन्टरनेट जडानका लागि तिस हजार रुपैयाँ नगद उपलब्ध गराउनुभएको छ ।