कालीगण्डकीको अवैध दोहनलाई जनप्रतिनिधिको संरक्षण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ५ बैशाख । Nadi Ko Dohon (1)बेनी नगरपालिका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा सम्बन्धित निकायको अनुमती बिना नदीजन्य बस्तु चोरी निकासी रोकीएको छैन् । जनप्रतिनिधिकै आडमा नदी किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ निकालिएको छ ।

जिल्ला समन्वय समितिसंग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने नीतिगत ब्यवस्था विपरीत स्थानीय सेभेनस्टार युवा क्लबका पदाधीकारीले बस्ती संरक्षणको बाहनामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गरेका हुन् ।

कानुन विपरीत एक्साभेटर प्रयोग गरेर नदीको दोहन गरेको भेटिएपछि एक्साभेटरको चावी नियन्त्रणमा लिएर प्राकृतिक स्रोत साधनको अबैध उत्खनन् र चोरी निकासी गरेको कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको प्रजिअ कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

प्रजिअ अधिकारी, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माको टोलीले बुधबार बिहान अनुगमनका क्रममा एक्साभेटर प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गरेर बिक्री प्रयोजनका लागि ट्याक्टर मार्फत ढुवानी गरेको भेटिएको थियो । Nadi Ko Dohon (3)आनन्दबगरमा नदीजन्य पदार्थको उत्खनन् र निकासीका लागि कसैले पनी अनुमती नलिएको र सम्झौता विपरीत डोजर, ब्याकलोडरको प्रयोग गरेर उत्खनन् गर्नु अबैध काम भएको जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताउनुभयो ।

एक हप्ताअघि प्रहरीले नदीजन्य पदार्थको अबैध उत्खनन्मा प्रयोग भएका उपकरण जफत गरेर जिससमा बुझाएपनि नीतिगत अस्पष्टताको कारण देखाउदै राजनीतिक दवावमा पुन उत्खनन् नगर्ने सहमती गराएर छाडेको थिए । क्लबका पदाधीकारीले नदीजन्य पदार्थको उत्खनन् गरेकोमा गल्ती स्विकार गर्दै अब उत्खनन् नगर्ने लिखित प्रतिवद्धता जनाएका थिए ।
नदीको धार र स्वरुप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् गर्दा बस्ती संरक्षणको साटो जोखिम बढेको छ । आनन्दबगरमा खेलमैदान विस्तार र नदी कटान नियन्त्रणका लागि ढुङ्गा गिट्टी र बालुवा बेचेर आयस्रोत जुटाउन कल्वले सात लाख पचास हजार रुपैयाँमा ठेक्कामा दिएको सेभेनस्टार युवा क्लबका अध्यक्ष लालबहादुर थापा (माईकल)ले बताउनुभयो ।

नगरपालिका, समन्वय समिति, जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयमा पटक पटक योजनाको माग गरेपनि बजेट बिनियोजन नभएकाले बाध्य भएर नगरपालिकाका जनप्रतिनिधिहरुको सहमतीमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गरीएको थापाले दावी गर्नुभयो ।
क्लबका किसान जिसीले पछिल्लो पटक बिक्री गर्ने उद्देश्यले नभई पहिले उत्खनन् गर्दा परेको खाडल पुरेर नदीलाई पुरानै स्वरुपमा लैजाने र खेलमैदान फिलीङ गर्ने उद्देश्यले जिसस र नगर प्रमुखको निर्देशन अनुसार डोजर प्रयोग गरीएको बताउनुभयो ।

स्थानीयबासीको बिरोध र दवावका कारण चालु आर्थिक वर्षमा जिससले आनन्दबगरको नदीजन्य पदार्थको ठेक्का लगाएको थिएन् । गत माघमा बेनपा १ सारेमारे क्षेत्रमा नदीजन्य पदार्थको उत्खनन्मा प्रयोग भएका डोजर र टिपर प्रहरीले नियन्त्रणमा लिएर जिससलाई बुझाएको थियो ।

प्रहरीले अबैध र जथाभावी रुपमा नदीको दोहनमा प्रयोग भएका सवारी साधन र उपकरण नियन्त्रणमा लिएपनि कारबाही नभएकाले यस्तो गतिबिधि मौलाएको प्रनाउ खड्काको गुनासो छ । जिससले म्याग्दीमा नदीजन्य पदार्थको उत्खनन् र निकासीका लागि चालु आर्थिक वर्षमा साठी लाख रुपैयाँमा ठेक्का लगाएको छ ।

बेनपा ५ को बगुवाखोलाका क्रसर सञ्चालकले समेत सम्झौता विपरीत डोजर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् गरेको स्थानीयबासीले गुनासो गरेका छन् । जिसस प्रमुख देवेन्द्र केसीले अहिलेकै अवस्थामा छोड्दा थप जोखिम हुने देखिएपछि बगरलाई सम्माउन निर्देशन दिएपनि नदीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकाल्नु र बिक्री गर्नु गलत भएको बताउनुभयो ।