नगरक्षेत्रमा भाडादर निर्धारण

गोपाल छन्त्याल/बेनी
चैत २२ गते ।

beni nagarpalika
बेनी नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक सवारीसाधनको भाडा निर्धारण गरेको छ । बिहिबार बेनीमा यातायात व्यवसायी र नगरपालिकाको वैठकले नगरक्षेत्रका ९ वटै वडामा चल्ने सवारीसाधनको भाडा निर्धारण गरेको हो ।
निर्धारण गरिएको भाडा अनुसार, बेनीदेखि अवेचौर ९० रुपैयाँ, बेनी–पुरुडी एकसय, बेनी–पुलाचौर १ सय ३०, बेनी–नयाँगाउँ १ सय ५५, बेनी–चिप्लेटी १ सय ७०, बेनी–डडुवा २ सय र बेनी–गलेश्वरमा २५ रुपैयाँ निर्धारण गरिएको नगरपालिका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए ।
उनका अनुसार, बेनी–हल्लेगौडा ११०, पानीस्वारा १४०, डाँडाखानी १७०, भकिम्ली १९०, डोले २२०, मुसुङ २३०, नयाँपुल ४५, सुर्केमेला ७०, बास्कुना ९०, थामडाँडा १२०, रत्नेचौर ४०, रत्नेचौर–बागलुङ ७५ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, बेनी–अर्थुङे ४०, जमरेनी ६५, नेप्टेचौर ११०, तोरीपानी १५०, अल्बाङ १६०, ओखले १९०, वाखेत २३०, पात्लेखेत १९०, डम्मर २०, चुत्रेनी २५, सिँगा ९०, ठुलोखोला ७०, तातोपानी ९०, बास्बोट ८० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
वैठकले बजारक्षेत्रभित्र सञ्चालन हुने ट्याक्सीको रिर्जभका लागि एकसय ५० र बेनी–गलेश्वरसम्म एकसय ६० रुपैयाँ निर्धारण गरिएको छ । यातायात व्यवसायीहरुले जथाभावी तरिकाले भाडा असुल्ने गरेको गुनासो बढेपछि नगरपालिकाले भाडा निर्धारण गरेको जनाईएको छ । भाडा निर्धारण भएपछि नगरक्षेत्रका यात्रुहरुलाई सहज हुने नगरप्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै बेनीनगरपालिकामा नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशिका समिति गठन भएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा उपप्रमुख सञ्जु बरुवाल रहेकी छन् । समितिमा ९ वटै वडाका वडाअध्यक्षहरु सदस्य हुनेछन् । नगरप्रमुखले एकजना महिला सदस्य नियुक्त गर्न सक्ने प्रावधान रहेको प्रवक्ता बराइलीले जानकारी दिए । बिहिबारै नगरपालिकामा जनप्रतिनिधी र कर्मचारीहरु बीच परिचयात्मक कार्यक्रम पनि सम्पन्न भएको छ । नगरपालिका सहित विभिन्न वडामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधीहरु बीच सम्बन्ध थप सुमुधुर बनाउन परिचयात्मक कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।