एकिकृत सम्पत्ति करको बारेमा वडा वडामा अन्तरक्रिया

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २० फागुन । beni nagarpalikaआगामी आर्थिक वर्षदेखि बेनी नगरपालिकामा लागूु हुन लागेको एकिकृत सम्पत्ति करको बारेमा वडा स्तरमा अन्तरक्रिया गरिएको छ । सरोकारवालाहरुलाई एकिकृत सम्पत्ति कर को बारेमा जानकारी गराउने, प्रचारप्रसार र सम्पत्ति मूल्याङ्कनको आधारका विषयमा छलफल गर्न वडा तहमा अन्तरक्रियालाई तिब्रता दिइएको हो ।
यसैक्रममा आइतबार बेनपा ७ र ८ का जनप्रतिनिधि, ब्यापारी र स्थानीयबासीहरुबीच बेनीमा एकिकृत सम्पत्तिकर मूल्याङ्कन सम्बन्धि अन्तक्रिया सम्पन्न भएको छ । ६, ९ र १० नम्बर बाहेकका वडामा अन्तरक्रिया गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले बताउनुभयो ।

अधिकृत शर्माले हाल नगरपालिकाले लिदै आएको मालपोत, घरजग्गा र घरधुरी करलाई आगामी साउन १ गतेदेखि एकिकृत रुपमा संकलनका लागि सम्पत्तीको मूल्याङ्कनको क्रममा रहेको बताउनुभयो ।

सवै वडामा अन्तरक्रिया गरेपछि नगरबासीलाई जग्गा र त्यहाँ बनेका पूर्वाधारको स्वमूल्याङ्कनका लागि आव्हान गर्ने नगरपालिकाको तयारी छ । नगरपालिकाले करको दर नभएर दायरा बढाउन लागेकाले अहिलेको बजार मूल्य अनुसार मूल्याङ्कन गरेमा नगरबासीलाई बैङ्कीङ र बैदेशिक रोजगारीको प्रयोजनका लागि समेत सजिलो हुने प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

नगर प्रमुख हरिकुमार श्रेष्ठले नगरको विकास र नगरबासीलाई विभिन्न सेवा, सुबिधा उपलब्ध गराउनका लागि आन्तरीक आयस्रोत वृद्धि गर्न एकिकृत सम्पत्तिकर लागू गर्न लागीएको बताउँदै ब्यवहारिक हिसाबले नगरबासीलाई मर्का नपर्ने गरेर करको दर निर्धारण गरिने भएकाले आफ्नो सम्पत्तिको वास्तवीक मूल्याङ गर्न आग्रह गर्नुभयो ।

नगरप्रमुख श्रेष्ठको अध्यक्षता, लेखा अधिकृत युक्तप्रसाद शर्माको सञ्चालन र बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।