ताजा समाचार:
Search

म्याग्दी भलिबल कपका लागि २० लाख सहयोगको सम्झौता

विकल्प न्यूज\बेनी
माघ १५ गते ।

म्याग्दी जिल्लामा पहिलो पटक माविस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ । भलिबल संघ म्याग्दी र गौमती विकास अक्षय कोषको मुख्य प्रायोजनमा भलिबलमा नयाँ प्रतिभाको खोजी, पहिचान र संरक्षण गर्ने उदेश्यले १० बर्षे सम्झौता गरिएको हो । उक्त सहयोग मार्फत आगमी पुस ५ गते बाट म्याग्दी भलिबल कपको आयोजना हुने छ ।

आइतबार भलिबल संघको कार्यालयमा कोषका संस्थापक अध्यक्ष लालबहादुर केसी र भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले सम्झौता\समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सोही अवसरमा भलिबल संघका अध्यक्ष बानियाँले विद्यालयस्तरमा रहेका भलिबलका प्रतिभाको पहिचानसँगै नियमित प्रशिक्षण लगायतका गतिविधि सञ्चालन गर्ने गरी कोषले बार्षिक २ लाख नगद उपलब्ध गराउने बताउनुभयो ।

‘खेलकुद क्षेत्रमा गरिएको सानो लगानीले ठूलो सफलता हात पार्छ, भलिबलमा गरिएको लगानी हामीले डुब्न दिन्नौ’ अध्यक्ष बानियाँले भन्नुभयो । उहाँले आगामी बर्ष पुष ५ गते जिल्लास्तरीय प्रतियोगिता हुने बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुने विद्यालयको छनौट सहित प्रतियोगितामा सहभागी हुनेलाई नियमित प्रशिक्षण सहितको योजना रहेको बताउनुभयो । हरेक विद्यालयबाट खेलाडीको छनौट गरी प्रशिक्षकको व्यवस्थापन गरेर खेल क्षेत्रलाई प्रभावकारी बनाउने लक्ष्य रहेको उहाँको भनाई छ ।
सोही अवसरमा आर्थिक सहयोगदाता कोषका संस्थापक अध्यक्ष एवम् पूर्व भलिबल खेलाडी केसीले विद्यार्थीलाई हौसला र उत्प्रेरणा दिन सहयोग गरेको बताउनुभयो । ‘प्रतिभा पहिचान गरेर दक्ष खेलाडी उत्पादन गर्न चाहान्छौ,‘आवश्यकता अनुसार थप सहयोग गर्नेछौ’ उहाँले भन्नुभयो ।

खेल क्षेत्रमा गरिएको यो लगानीले म्याग्दीको भलिबल क्षेत्रलाई नयाँ उचाईमा पु¥याउने बताउनुभयो । म्याग्दीको ग्रामिण क्षेत्रमा भलिबल आकर्षण धेरै भएकाले नियमित प्रतियोगिताले खेलाडी उत्पादन हुने बताउनुभयो । जिल्लामा म्याग्दी जेसीजले अन्तरमाविस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने गरेकोमा अव भलिबल संघले समेत माविस्तरीय प्रतियोगिता सुरु गरेपछि फुटबलजस्तै भलिबलमा समेत प्रतिभाको पहिचानमा सहज हुने खेलकुदका जानकारहरु बताउँछन् ।

कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्री लगायतको उपस्थिती रहेको थियो ।