ताजा समाचार:
Search

बेनीमा नापतौलका सामान परिक्षण गर्न घरदैलो

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी ९ माघ ।
नापतौल तथा गुणस्तर नियन्त्रण कार्यालय पोखराले बेनीका व्यवसायीहरुलाई नापतौलका सामान परिक्षण र दर्ताका लागि घरदैलो अभियान सञ्चालन गरेको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा ब्यवसायीहरुलाई घरदैलोमै सेवा प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको हो । आईतबारदेखि सुरु भएको अभियान सोमबारसम्म चल्ने कार्यालयले जनाएको छ ।IMG_1334बेनी बजारको विभिन्न ठाउँ र गलेश्वर बजारका ब्यापारीहरुलाई टोलमै ढक, काँटा, तराजु, लिटर, मिटर लगायतका नापतौलका सामान परिक्षण गर्ने गर्ने व्यवस्था मिलाएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

पोखरा पुगेर नापतौलका सामान दर्ता र परिक्षण गराउन झञ्जट तथा धेरै खर्च लाग्ने तथा परिक्षण नगर्दा उपभोक्तालाई मर्का पर्ने भएकाले जिल्लामै घुम्ती टोली ल्याएर नापजाँच गर्ने व्यवस्था मिलाएको कर्माचार्यले बताउनुभयो ।

उहाँका अनुसार आईतबार म्याग्दी उद्योग वाणिज्य संघ, सुनचाँदी ब्यवसायी संघ, संगमचोक, बालमन्दिर चोक, मंगलाघाट र हुलाकचोकमा घुम्ती शिवीर राखेर नापजाँच गरिएको थियो । सोमबार गलेश्वर, बेनीको पिपलचोक, क्याम्पसचोक र न्युरोडमा नापजाँच गरिने कार्यक्रम छ ।
सेवा दिनका लागि कार्यालयका निरिक्षक निराजन पुडासैनीको नेतृत्वमा लेखा अधिकृत पदमराज बराल, सिनियर मिस्त्री रघु न्यौपाने र प्राबिधिक सुर्यकुमार श्रेष्ठको टोली बेनी आएको छ । संघले वार्षिक रुपमा कार्यालयको टोलीलाई बेनीमा बोलाएर नापतौलका सामान दर्ता र जाँच गर्ने व्यवस्था मिलाउदै आएको छ ।

ब्यवसायीले नापतौलका यन्त्र खरिद गरेको ३५ दिनभित्र कार्यालयमा दर्ता गर्नुपर्ने ब्यवस्था छ । दर्ता भएको सामानको प्रत्येक दुई वर्षमा परिक्षण गरि नविकरण गर्ने व्यवस्था छ । म्याग्दीका करिब छ सय जना व्यवसायीले मात्र आफ्नो नापतौलका सामान दर्ता गराएका छन् ।
नापतौलका सामान दर्ता र परिक्षण नगर्दा उपभोक्तालाई मर्का पर्छ । कार्यालयको टोलीले बेनीमा अनुगमन गरि ब्यवसायीहरुलाई सामान दर्ता र नियमित नापजाँच गराउन निर्देशन दिएको निरिक्षक पुडासैनीले बताउनुभयो ।