विद्युतीय पुस्तकालय स्थापना गर्ने सम्झौता

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १ पुष ।

म्याग्दीका सामुदायिक विद्यालय र क्याम्पसमा विद्युतीय पुस्तकालय स्थापनाका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) र नेपाल लाईब्रेरी फाउण्डेशन बिच सम्झौता भएको छ ।

सम्झौता अनुसार म्याग्दीका विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न नेपाल फाउण्डेशनले प्राबिधिक सहयोग र मोनाले अन्य व्यवस्थापनमा सहयोग गर्ने उल्लेख छ । सम्बन्धित शैक्षिक संस्थाले डिभाईस बक्सको व्यवस्था गरेमा प्राबिधिक र व्यवस्थापन कार्यमा एनआरएन, मोना र फाउण्डेशलले सघाउने भएको छ ।mona-samjhauta-2पहिलो चरणमा म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी सामुदायीक पुस्तकालय सहित १५ वटा सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने तयारी गरेका दुई संस्थाबीच भएको सम्झौताले अन्य विद्यालयमा समेत प्रबिधियुक्त पुस्तकालय स्थापना गर्न सहज हुने अपेक्षा गरिएको छ ।

गैरआवासीय नेपाली संघ ईलाईब्रेरी कार्यदल प्रमुख तथा मोनाका बरिष्ठ उपाध्यक्ष बिनोद कुँवरको रोहबरमा मोनाका कोषाध्यक्ष चक्र थापा र नेपाल लाईब्रेरी फाउण्डेशनका महासचिव धनकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

विद्युतीय पुस्तकालय स्थापना गर्ने सम्बन्धमा पौष ६ गते बेनीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको मोनाका विद्युतीय पुस्तकालय कार्यदलका प्रमुख समेत रहनुभएका कोषाध्यक्ष थापाले जानकारी दिनुभयो ।

विद्युतीय पुस्तकालय मार्फत इन्टरनेट नपुगेको ठाउँमा पनि कम्प्युटरमा पाठकले आफूले चाहेका पुस्तक पढ्न सक्छन् । कक्षा २ देखि ७ सम्मको पाठ्यक्रम र आठ हजार विभिन्न बिधाका पुस्तक डिजीटलाईज्ड गरिएको पुस्तकालयमा श्रब्य, दृष्य सामाग्री पनि उपलब्ध हुनेछ ।