बिम र राम्चेलाई साक्षर गाविस घोषणा

धिरन खत्री/विकल्प न्यूज
म्याग्दी ३० मंसिर ।
म्याग्दीको बिम र राम्चेलाई बिहीबार एकै दिन साक्षर गाविस घोषणा गरिएको छ । बिम र राम्चेमा गाउँ शिक्षा समितिले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा साक्षर गाविस घोषणा गरिएको हो ।
बिममा बसोबास गर्ने १५ देखि ५९ वर्ष उमेर समूहका दुई हजार जना मध्य ९९ प्रतिशत र राम्चेमा बसोबास गर्ने सोही उमेर समूहका एक हजार छ सय जना मध्य ९७.७५ प्रतिशतले अंक, अक्षर लेखपढ गर्न सक्ने भएपछि घोषणा गरिएको गाउँ शिक्षा समितिले जनाएका छन् ।

शिक्षा मन्त्रालयले लक्षित उमेर समूहका ९५ प्रतिशत भन्दा बढी जनसंख्याले अंक अक्षर लेखपढ गर्न जानेमा साक्षर गाविस, वडा, जिल्ला घोषणा गर्न सकिने व्यवस्था गरेको छ । बिममा आयोजित घोषणा सभामा प्रमुख अतिथि सांसद नवराज शर्माले दिगो विकासका लागि शिक्षामा पहुँच आवश्यकता रहेको बताउनुभयो ।ramcheराम्चेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद एवं पुर्व राज्यमन्त्री नरदेवी पुनले आर्थिक, सामाजिक र राजनितिक विकासका लागि सबै नागरीक शिक्षीत बन्नुपर्ने बताउनुभयो ।

बिममा गाविस सचिव मिलन थापाको अध्यक्षता, किसानी माविका प्रअ जंगबहादुर गर्बुजाको स्वागत र शिक्षकद्धय सुरमान गर्बुजा तथा लक्ष्मीकान्त रेग्मीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, जनविकास माविका स्रोत व्यक्ति कृष्णलाल सापकोटा लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी राम्चेमा गाविस सचिव कृष्ण विश्वकर्माको अध्यक्षता, हिमाञ्चल माविका शिक्षक तोयाराम परियारको सञ्चालन र देउराली निमावी राम्चेका व्यवस्थापन समिति अध्यक्ष राजु पुनको स्वागतमा सम्पन्न कार्यक्रममा जिविसका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य, शिक्षा कार्यालयका विद्यालय निरिक्षक रामकरण पाल, आदर्श माविका स्रोत व्यक्ति भरत पुन, म्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक गोरखबहादुर जिसी, हिमाञ्चल उच्च माविका प्रअ रमन पुनले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

घोषणा कार्यक्रममा स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थी, अभिभावक र अगुवाहरुले सन्देशमुलक प्ले कार्ड सहित ¥याली निकालेका थिए । विद्यार्थी र आमा समूहले गित तथा नृत्य प्रस्तुत गरेका थिए । यसअघि म्याग्दीको बरंजा, मराङ, पात्लेखेत, कुहुँ, घार र नारच्याङ गाविसलाई साक्षर गाविस घोषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालयले म्याग्दीलाई चालु आर्थिक वर्षभित्रनै साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेको छ ।