किन भयो ताकम प्रहरी चौकी भवन उद्घाटनमा विवाद ?

सन्तोष गौतम /विकल्प न्यूज
तकम ३० मंसिर ।
म्याग्दीको ताकम ५ मा करिब एक करोड रुपैयाँको लागतमा निर्माण भएको प्रहरी चौकी भवनको बिहीबार उद्घाटन गरिएको छ ।

निर्माण व्यवसायी र स्थानीयबीच लेनदेनको विषयमा उद्घाटन कार्यक्रममै बिवाद

शान्ति तथा पुननिर्माण मन्त्रालयको ९३ लाख ७१ हजार २०५ रुपैयाँ लगानीमा निर्माण भएको साढे दुई तले १४ कोठे भुकम्प प्रतिरोधी क्षमताको भवन पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) कमलसिङ बमले उद्घाटन गर्नुभएको हो ।dsc08502वि.स २०६८ चैत २९ गते सुरु भएको भवन निर्माण कार्य सम्पन्न भएको एक वर्षपछि उद्घाटन भएको हो । भवनमा प्रशासन, पुरुष महिला हिरासत, बंकर, ब्यारेक लगायतका कक्ष रहेका छन् । भाडाको घरबाट सञ्चालन हुँदै आएको प्रहरी चौकीको आफ्नै भवन भएपछि कार्यसम्पादनमा सहज हुने अपेक्षा गरिएको छ ।

यसअघि मच्छिममा रहेको ताकम प्रहरी चौकीको भवन द्धन्द्धकालमा ध्वस्त भएको थियो । भवन उद्घाटन कार्यक्रममा डिआईजी बमले विकाससंगै थपिएको सुरक्षा चुनौतीको सामना गर्नका लागि नागरिक र प्रहरीबिच सहकार्य हुनुपर्ने बताउनुभयो ।

उहाँले शान्ति सुरक्षा सुदृढीकरणका लागि सामाजिक सद्भाव र संस्कारयुक्त समाजको आवश्यकता रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले ताकम प्रहरी चौकीको स्तरवृद्धि गर्न पहल गर्ने बताउनुभयो । उहाँले सामाजिक विकृती न्युनीकरणका लागि सचेतना आवश्यक रहेको बताउनुभयो ।

प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले अनुकुल समयको अभाव, प्राबिधिक समस्या र भवनको केही काम बाँकी भएकाले उद्घाटन गर्न ढिलाई भएको बताउनुभयो । प्रहरी नायव निरिक्षकको नेतृत्वमा दश जना जनशक्तिको दरबन्दि रहेको ताकम प्रहरी चौकीको कार्यक्षेत्र मुना, मुदी, गुर्जा र लुलाङ गाविस हो ।

प्रहरी चौकी भवन निर्माण समितिका अध्यक्ष मनबहादुर भण्डारीको अध्यक्षता र ईलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक उपेन्द्र पुरुष तिमिल्सीनाको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रहरी नायव निरिक्षक ईञ्जिनियर बासुदेव थापाले भवनको प्राबिधिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

यसैबीच सो भवन निर्माणमा खटिएका मजदुरहरुले ज्याला नपाएको गुनासो गरेका छन् । भवन उद्घाटन कार्यक्रममा गएका अतिथि लगायत सम्बन्धि निर्माण ब्यवसायीसंग स्थानीय ठेकेदार, सामान ढुवानीकर्ता र कामदारहरुले एघार लाख रुपैयाँ रकम नपाएको गुनासो गरेका हुन् । आफूले पाउनुपर्ने रकम नपाएको भन्दै उनिहरुले भवन उद्घाटनका क्रममा बिरोध जनाएका थिए ।

सो भवन निर्माण गर्ने जिम्मा लिएको एपी बिल्डर्सका सञ्चालक बिपीन खड्काले भने आफूले दिनुपर्ने सबै रकम स्थानीय प्रतिनिधिलाई भुक्तानी दिएको दावी गर्नुभयो । भवन बनाउन ताकमका दुई जना व्यवसायीलाई जिम्मा दिएको उहाँले बताउनुभयो । खड्कासंग काम गरेका स्थानीय सोमबहादुर मगर (बाबु)ले आफूले एघार लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको दावी गर्नुभएको छ ।