बेनीमा जडित सिसीटिभी क्यामेराको उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २९ मंसिर ।
म्याग्दीको सदरमुकाम बेनीमा जडान भएको सिसिटिभी क्यामेराको बुधबार उद्घाटन गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको पहलमा जडान भएको क्यामेराको जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) कमल सिङ बलमे उद्घाटन गर्नुभएको हो ।dsc08480सो कार्यक्रममा डिआईजी बमले बढ्दो सुरक्षा चुनौतीलाई नियन्त्रण गर्न नेपाल प्रहरीले प्रबिधिको प्रयोगलाई प्राथमिकता दिएको बताउनुभयो । निजी क्षेत्र र सरकारी निकायले बेनीको शान्ति सुरक्षा सुदृढीकरणका लागि गरेको सहकार्यको डिआईजी बलमे प्रशंसा गर्नुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बेनीमा आपराधिक घटना नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षा सुदृढीकरण गर्न सिसीटिभी क्यामेरा सहयोगी बन्ने बताउनुभयो ।

कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट नेकपा माओवादी केन्द्रका संयोजक गोविन्द पौडेल, स्थानीय विकास अधिकारी प्रेमराज गिरी, बेनी नगरपालिका कार्यालयका प्रमुख कार्यकारी अधिकृत छवीलाल सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ, गरिमा विकास बैङ्क बेनी शाखाका प्रबन्धक कमल ढुङ्गाना, सुनचाँदी व्यवसायी संघका अध्यक्ष दिपेन्द्र विश्वकर्मा र पत्रकार महासंघका अध्यक्ष सुरज केसीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत गर्नुहुदै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माले १४ लाख ६५ हजार रुपैयाको लगानीमा बेनीको विभिन्न १६ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएको जानकारी दिनुभयो । सिसीटिभी क्यामेराले खिच्ने दृष्य फाईवरको सहायताले जिल्ला प्रहरी कार्यालयबाट निगरानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सिसीटिभी क्यामेरा जडान गर्नका लागि बेनी नगरपालिका कार्यालयले चार लाख, जिविसले दुई लाख रुपैयाँ सहयोग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघले एक लाख २८ हजार लगानी गर्ने निर्णय गरेको छ । बाँकी रकम बेनीका बैङ्क, वित्तिय संस्था, सुनचाँदी ब्यवसायी र स्थानीयबासीबाट जुटाइने अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

सिसीटिभी क्यामेराको दिगो व्यवस्थापनका लागि विद्युतको व्यवस्था र मर्मत सम्भारका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने संघले जनाएको छ । सिसीटिभी क्यामेरा जडान तथा व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष समेत रहनुभएका संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माको अध्यक्षता र प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुको सञ्चालनमा सम्पन्न कार्यक्रमको धन्यवाद मन्तब्य सहित प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले समापन गर्नुभएको थियो ।