जोमसोम–पोखरा जीप सेवा सुरु

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २९ मंसिर ।

पर्यटकीय नगरी पोखरादेखि म्याग्दीको बेनी हँुदै हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने पोखरा–बेनी–जोमसोम सडकमा बुधबारदेखि सिधा जीप सेवा सुरु भएको छ ।

साढे नौ करोड रुपैयाँको लगानीमा स्थापित मुक्तिनाथ दर्शन यातायात प्रा.लीले जोमसोम देखि पोखरासम्म सिधा जीप सुरु गरेको हो । जिप सेवाको पुर्व सांसद चन्द्रबहादुर गुरुङ र सिप्रदी टे«डर्सका महाप्रबन्धक प्रविण खतिवडाले उद्घाटन गर्नुभयो ।jomsome-pokhara-jeep-service-1पहिलो दिन जोमसोमबाट पोखराका लागि दुई र पोखराबाट जोमसोमका लागि पाँच वटा टाटा सुमो जिप छुटेका छन् । यात्रुको चाप र मागसंगै स्तरीय सेवा दिने उद्देश्यले कम्पनी स्थापना गरिएको मुक्तिनाथ दर्शन यातायात प्रा.लीका अध्यक्ष महेन्द्र थकालीले बताउनुभयो ।
२७ वटा जिपबाट सेवा सुरु गरेको कम्पनीले जीप संख्या चालीस वटा पु¥याउने जनाएको छ । एउटा जीपमा चालक सहित नौ जनाको क्षमता रहेको छ । पोखरादेखि जोमसोम सम्म प्रतिव्यक्ति एक हजार ६९० रुपैयाँ भाडादर तोकिएको अध्यक्ष थकालीले बताउनुभयो ।

पोखरा बेनी जोमसोम सडकमा सिधा जीप सञ्चालन भएपछि मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ । छिटो गन्तब्यमा पुग्न र सुबिधाका लागि जिप सेवा प्रभावकारी भएको यात्रुहरुले बताएका छन् ।

यसअघि म्याग्दी, मुस्ताङ र पोखराका यातायात ब्यवसायीले पोखरा जोमसोम रुटमा सिधा माईक्रोबस सेवा दिँदै आएका थिए । सिधा चल्ने बसको संख्या कम हुने र बिच बिचमा गाडी परिवर्तन गर्नुपर्ने समस्याका कारण यात्रुहरुलाई सास्ती भएको थियो ।

असोज, कात्तिक र चैत बैशाखको याममा पोखरा–बेनी–जोमसोम सडकमा यात्रा गर्ने सर्वसाधारणले गाडी नपाउने समस्या थियो । दुई वर्षअघिसम्म स्थानीय यातायात व्यवसायीको मात्र गाडी चढ्नुपर्ने बाध्यता रहेको यो सडकमा पछिल्लो समय पर्यटक, निजी र अन्य ठाउँबाट आउन सार्वजनिक सवारी साधनको आवत जावत सहज बन्दै गएको छ ।