नारच्याङमा जलविद्युत आयोजना थपिदै

विकल्प न्यूज/बेनी
मंसिर २० गते ।

प्रस्तावीत अन्नपूर्ण गाउँपालिकामा पर्ने म्याग्दीको नारच्याङमा एक पछि अर्को गर्दै जलविद्युत आयोजना निर्माण हुन थालेको छ ।

विगत तिन वर्षदेखि पाँच मेघावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजना निर्माण भैरहेको नारच्याङ १ मा ४२ मेघावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ ।
वि.स २०४४ देखि दुई मेघावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना रहेको नारच्याङमा थप दश वटा आयोजना निर्माणको प्रक्रियामा रहेका नारच्याङ जलसरोकार समितिका सदस्य तेज गुरुङले बताउनुभयो ।mistrikholaतस्विर ः ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको सुरुगमार्ग /तस्विर नवविकल्प

पाँच अरब ६४ करोड रुपैयाँको लागतमा रोवष्ट ईनर्जी कम्पनीले निर्माण सुरु गरेको मिस्त्री खोला आयोजना आगामी सन २०१८ को डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । १८० मिटर पहुँचमार्ग निर्माण सकेर मुख्य सुरुङको काम सुरु गरेको आयोजनाका प्रमुख इन्जिनियर दामोदर श्रेष्ठले जानकारी दिनुभयो ।

पहाडभित्र सुरुङ खनेर पानी संकलन गर्ने पोखरी निर्माण गरिरकेको कम्पनीले छिट्टै बाँध र विद्युतगृहको पुर्वाधार निर्माणको काम पनि सुरु गर्ने तयारी छ । नारच्याङ बेशीदेखि निलगिरी र घलेम्दी खोलाको दोभानमा रहने बाँधसम्म ९ किलोमिटर सडक, तिन वटा बेलीब्रिज र क्याम्पीङ साईट निर्माण भैसकेको छ ।

दुई हजार तिन सय मिटर सुरुङबाट ल्याइने पानी ३०४ मिटरको हेडबाट नारच्याङ बेशीमा निर्माण हुने विद्युत गृहमा खसालेर बिजुली निकालीने भएको छ । आयोजनाको लागि लगानी जुटीसकेको प्रबन्ध निर्देशक डोलराज शर्माले बताउनुभयो । संस्थापकहरु बाहेक नेपाल इन्भेष्टमेन्ट बैङ्कसंग ७० करोड, जलविद्युत विकास कम्पनीसंग एक अरब र नेपाल बैंकसंग ५० करोड ऋण सम्झौता भएको छ ।

यसैगरी नविल बैंकबाट एक अरब, लक्ष्मी बैंकबाट ४० करोड, सिद्धार्थ बैंकबाट ३० करोड र एस डेभलभमेन्ट बैंकबाट ३० करोड ऋण लगानीका लागि सम्झौता भएको छ । मिस्त्रीखोलाले वि.स २०६४ मा निर्माणका लागि अनुमती पाएको थियो ।

नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन निर्माणमा ढिलाई गर्दा नौ वर्ष पछि धकेलीएको हो । प्राधिकरणले प्रशारण लाइन र सबस्टेशन निर्माणका लागि ठेक्का सम्झौता गरेपछि मिस्त्री लगायतका आयोजनाहरुको निर्माण कार्यले गति लिएको छ ।

सबस्टेशन निर्माण सम्पन्न हुने समयमै सक्नेगरी मिस्त्रीखोलाको काम अघि बढाइएको हो । आयोजनाको काम सबस्टेशन जति छिटो बन्छ त्यतीनै तिब्र गतिमा अघि बढाइने प्रबन्ध निर्देशक शर्माले बताउनुभयो । यसैगरी माउन्टेन इनर्जी प्रा.लीले नारच्याङ १ मा पर्ने निलगिरी खोलामा एक सय मेघावाट क्षमताको दुई वटा जलविद्युत आयोजना निर्माणको तयारी भएको छ ।

३८ मेघावाट क्षमताको निलगिरी पहिलो र ६२ मेघावाट क्षमताको निलगिरी दोस्रो क्यासकेट आयोजना निर्माणको लागि प्रारम्भिक चरणका काम पुरा भएको प्रा.लीले जनाएको छ । निलगिरी हिमालको फेदीमा मुहान रहेको उक्त नदीको हाइट धेरै भएकाले दुई वटा आयोजना निर्माण गर्न लागीएको हो ।

विद्युत खरिद बिक्री सम्झौता र लगानीको स्रोत जुटाएर पुर्वाधार निर्माण सुरु गर्ने कम्पनीले जनाएको छ । प्रारम्भिक सर्वेक्षण अनुसार आयोजनाको प्रतिमेघावाट लागत १५ करोड रुपैयाँ हुने देखिएको छ । गाउँमा जलविद्युत आयोजना निर्माणले तिब्रता पाएपछि नारच्याङका बासिन्दाले रोजगारी र लगानीको अवसर पाएका छन् ।

घरखर्च जुटाउन लामो समय वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुकमा श्रम, पसिना बगाएका नारच्याङ गाविस– ४ का रेशबहादुर तिलिजा गाउँमै रोजगारी पाएकोमा मख्ख हुनुहुन्छ । घलेम्दीखोला जलविद्युत् आयोजनामा नाइकेको रुपमा कार्यरत तिलीजाले गाउँमा जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम सुरु भएर रोजगारीको अवसर सिर्जना भएपछि वैदेशिक रोजगारीलाई त्याग्नुभएको हो ।

गाउँमै जलविद्युत् आयोजनामा काम गरी घरखर्च जुटाउन पाउँदा आफूलाई सन्तुष्टि मिलेको १० वर्षसम्म कतारमा मजदुरी गरी फर्किएर घलेम्दी जलविद्युत् आयोजनामै आबद्ध भएका नारच्याङ–५ का नीरबहादुर थजालीले बताउनुभयो । आयोजनाको काम सुरु भएसँगै गाउँमा सडकलगायतका पूर्वाधार पनि तयार भएका छन् ।ghalamdi-3‘घलेम्दी हाइड्रो लिमिटेड’ले निर्माण गर्न लागेकोे घलेम्दीखोला जलविद्युत् आयोजनामा अहिले करिब एक सय जनाले रोजगारी पाएका छन् । अन्नपूर्ण हिमालको फेदी हुँदै बग्ने घलेम्दीखोला जलविद्युत् आयोजनाको सुरुङ मार्ग, बाँध निर्माणलगायतको पूर्वाधार निर्माण काममा करिब २०० जना मजदुर परिचालन भएका छन् ।

आयोजनाको लागि आवश्यक पर्ने जनशक्ति स्थानीय स्तरमा उपलब्ध भएकाले उनीहरूलाई नै अवसर दिएको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव विमल रिजालले बताउनुभयो । जिल्लाकै व्यवसायी र अगुवाको नेतृत्वमा निर्माण सुरु भएको सो आयोजनाले स्थानीयलाई रोजगारीसँगै लगानीको समेत अवसर प्रदान गरेको छ ।

नारच्याङका अधिकांशले उक्त आयोजनामा सेयर लगानी गरेका छन् । सो गाविसबाट करिब रु एक करोड लगानी भएको रिजाल बताउनुहुन्छ । रोजगारीको लागि खाडीमुलुक जाने युवा अहिले आयोजनामै काम पाउन थालेका छन् । नारच्याङकै रेले खोलामा ६ मेघावाट क्षमताको आयोजना बनाउन निजी क्षेत्रले विद्युत विकास बिभागबाट अनुमती लिएको छ ।