म्याग्दीमा खेतीयोग्य जमिन बाँझीदै

विकल्प न्यूज/बेनी
मंसिर २० गते ।

पहाडी जिल्ला म्याग्दीमा खेती योग्य जमिन बाँझीने समस्या बढेको छ । जिल्लाको एक तिहाई भन्दा बढी खेतीयोग्य जमिन बाँझो बनेको कृषि विकास कार्यालयको तथ्याङ्क छ । बिदेश पलायन, बसाईसराई र सुबिधाभोगी जिवनशैलीका कारण खेतीयोग्य जमिन बाँझीने समस्या बढेको हो ।

३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन रहेको म्याग्दीमा हाल १९ हजार ४९८ हेक्टरमा मात्र खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । “कुल खेतीयोग्य जमिनको ६३ प्रतिशत मात्र प्रयोगमा आएको छ” बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले भन्नुभयो “जिल्लाभर ३७ प्रतिशत जमिन बाँझो बनेको छ ।”second-main-news-ko-photoम्याग्दीको ताकम ३ मा खेती हुन छाडेपछि बाँझीएर जंगल, झाडीमा परिणत भएको खेत । तस्विर नवविकल्प

काम गर्न सक्ने युवा युवती बिदेश र उनिहरुका परिवार सुबिधाको खोजीमा सहरमा अस्थाई बसोबास गर्न थालेपछि खेतीबाली लगाउने, भित्र्याउने, गोडमेल गर्ने जनशक्तिको अभाव भएको छ । काम गर्ने जनशक्ति अभाव र आयातित खाद्यान्नमा बढ्दो परनिर्भरताका कारण खेतबारी बाँझो बनेको राम्चे २ नांगीका मोतीबहादुर पुर्जाले बताउनुभयो ।

वि.स २०७० मा भएको कृषि गणनाको प्रतिवेदनमा म्याग्दीमा मकै खेती हुने १५, कोदो १० र जौ तथा उवा खेती हुने १५ प्रतिशत जमिन बाँझो रहेको उल्लेख छ । राम्चे, हिस्तान, दोवा, शिख, घार, नारच्याङ, चिमखोला, कुईनेमंगले, ताकम, मुदी, मुना, देविस्थान लगायत गाविसमा जमिन बाँझीने समस्या बढ्दो छ ।

दरवाङ, बाबियाचौर, बेनी, बगरफाँट, सिंगा लगायत सहरी क्षेत्रमा घडेरीका कारण जग्गा पलटीङ हुँदा खेतीयोग्य जमिन घटेको छ । खेतीयोग्य उर्बर भुमी बाँझो बन्दा चामल, दाल, मकै, गहुँ लगायत खाद्यान्नमा परनिर्भरता बढेको छ ।

बैदेशिक रोजगारीबाट भित्र्ने रेमीट्यान्स कारण मानिससंग पैसा पर्याप्त हुँदा उत्पादन गर्नुभन्दा किनेर उपभोग गर्ने चलनको विकास भएको ताकम ४ का लालबहादुर थापाले बताउनुभयो । सडक सञ्जालको विस्तारसंगै ग्रामिण क्षेत्रमा आयातीत खाद्यान्न सस्तो मूल्यमा पाईने भएकाले दुख गरेर उत्पादन गर्नेतर्फ स्थानीयको आकर्षण घटेको छ ।

खेतीयोग्य जमिन बाँझो बन्ने समस्या नियन्त्रणका लागि नीतिगत व्यवस्थाको आवश्यकता रहेको बरिष्ठ कृषि विकास अधिकृत रिजालले बताउनुभयो । सके आफै नभए अरुलाई भएपनि जग्गा प्रयोग गर्न दिने बाध्यकारी ब्यवस्था गर्नुपर्ने उहाँको भनाई छ ।

आलु, सुन्तला, केरा लगायतका फलफुल, जडिवुटी खेतीलाई विस्तार गरेर कृषकलाई पनि फाईदा हुने र जमिन पनि बाँझो नबन्ने योजनालाई प्राथमिकता दिइएको कृषि विकास कार्यालयले जनाएको छ । खेती प्रणालीमा यान्त्रीकरण, घाँसखेती गरेर पशुपालन र जडिवुटी खेती मार्फत आयआर्जन र जमिनको प्रयोग गर्न सकिने अगुवा कृषकहरुले बताएका छन् ।

“खाडीका मरुभुमिलाई हराभरा बनाउने नेपालीको उर्वर जग्गा जमिन बाँझो पल्टीएर जंगल झाडीमा परिणत भएको देख्दा दुख लाग्छ” हिस्तान ९ दोसल्लेका अगुवा कृषक मिलन गर्बुजाले भन्नुभयो “बिदेशमा गर्ने दुःख र परिश्रमलाई आफ्नै गाउँ ठाउँमा परिचालन गर्न सक्नुपर्छ ।”
कृषि पेशालाइ सम्मानीत, व्यवसायिक, उत्पादनको बजारीकरण, सेवा सुबिधामा कृषकको पहुँच वृद्धी, सिचाईको व्यवस्थामा ध्यान दिन सकेमा बिदेशीने युवालाई स्वदेशमै केही गर्न प्रोत्साहीत गर्न सकिने गर्बुजाको भनाई छ ।