मगर संघको देउसीभैलोको आयब्यय सार्वजनिक

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १८ मंसिर ।
नेपाल मगर संघ म्याग्दीले तिहार पर्वको अवसरमा गरेको देउसीभैलो कार्यक्रमको आम्दानी खर्च विवरण सार्वजनिक गरेको छ ।

संघका अध्यक्ष मनप्रसाद थजालीको अध्यक्षतामा शनिबार बसेको बैठकले आम्दानी खर्च विवरण अनुमोदन गर्दै सार्वजनिक गरेको हो । देउसीभैलोबाट ११ लाख ४६ हजार ४६० रुपैया आम्दानी र दुई लाख ३५ हजार ८५ रुपैयाँ खर्च तथा नौ लाख ११ हजार ४०५ रुपैया बचत भएको संघका सचिव लोकेश पुन मगरले जानकारी दिनुभयो ।magar 5

फाइल तस्विर

संघको बेनी स्थित सामुदायीक भवनलाई व्यवस्थित गर्ने, भाषा, कला र संस्कृतीको संरक्षण गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले बेनीमा देउसीभैलो खेलीएको थियो । सहयोग संकलन अभियानलाई निरन्तरता दिनका लागि अध्यक्ष थजालीको संयोजकत्वमा कोषाध्यक्ष रेशम जुक्जाली, उपाध्यक्ष डगमाया पाईजा, सचिवालय सदस्य ओम पुन र सदस्य कृष्णबहादुर पुन सदसय रहनुभएको उपसमिति गठन भएको छ ।

यसैगरी मगर संघ म्याग्दीले मगर समुदायको प्रमुख पर्व आगामी माघे संक्रान्तिको अवसर पारेर पुख्यौली नृत्य प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । लोप हुदै गएको र पुस्ताहस्तान्तरण हुन नसकेको पुख्यौली नृत्य संरक्षणमा युवा पुस्तालाई अग्रसर गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्ने निर्णय भएको सचिव पुनले बताउनुभयो ।