क्याम्पस चोकमा भलबाढीको निकास खोज्न समिति गठन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३२ जेठ ।
बेनी बजारको क्याम्पसचोकमा आउने भलबाढीलाई सुरक्षित रुपमा निकास दिनका लागि देखिएको समस्या समाधानका लागि पहल गर्न मंगलबार एक समिति गठन भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा भएको सर्वदलीय, सर्वपक्षिय भेलाले बेनी नगरपालिकाका कार्यकारी अधिकृत छवीलाल सुवेदीको नेतृत्वमा क्याम्पसचोक देखि कालीपुल सम्मको नालीमा बाढीलाई कसरी सहज निकास दिन सकिन्छ भन्ने उपायको खोजी गर्ने उद्देश्यले समिति गठन गरेको हो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिबनबहादुर विश्वकर्मा सदस्य सचिव रहनुभएको समितिको सदस्यहरुमा राजनितिक दलहरुको तर्फबाट हरिकुमार श्रेष्ठ, बालकृष्ण सुवेदी, शेरबहादुर केसी, पहलबहादुर खत्री, बिरबहादुर थापा क्षेत्री, छवी बिक र डम्मरबहादुर बानियाँ रहनुभएको छ ।

१९ सदस्यीय समितिको सदस्यहरुमा ६ नम्बर वडा नागरिक मञ्चका संयोजक राजेन्द्र श्रेष्ठ, ७ का उत्तम कर्माचार्य, प्रभावीत क्षेत्रका बासिन्दा घनश्याम खड्का, श्यामप्रसाद श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, श्याम श्रेष्ठ लगायत रहनुभएको छ ।