सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३२ जेठ ।
म्याग्दी र कालीगण्डकीको दोभान तथा भिरालो पाखाको फेदीमा रहेको सदरमुकाम बेनीबजार बाढी र कटानको चपेटामा परेको छ । कटान नियन्त्रणका लागि कालीगण्डकी किनारमा पक्कि पर्खाल निर्माण गर्न सुरु भएपनि बस्ती माथिबाट आउने बाढीले बेनीको भविष्यमा चुनौती थपेको छ ।
गत शनिबार राती चौथोपटक क्याम्पसचोक र मंगलाघाटमा बाढीले बितण्डा मच्चाएपछि स्थानीय बासिन्दा देखि सरोकारवाला निकायले समस्याको कारण र समाधानको विकल्प खोजी गर्न थालेका छन् । बेनी बजारका बासिन्दा समेत रहनुभएका म्याग्दी बहुमुखी क्याम्पसका पुर्व प्रमुख राम्जीप्रसाद सुवेदीले जिविस अन्तरगत सञ्चालित ड्रिलीप आयोजनाले सडक बिस्तार गर्दा निस्केको माटोको सही व्यवस्थापन नगर्दा पछिल्लो पटक बाढी आएको बताउनुभयो ।
सडकको भल ब्यवथापन गर्ने नाली निर्माणमा ध्यान नदिइनु र खोल्सामा आउने भलबादीलाई उसकै स्वरुपमा बग्न नदिने गरि बजारभित्र संरचना निर्माण गर्दा यस्तो समस्या सिर्जना भएको सुवेदीको भनाई छ । बेनी बजारका अर्का बासिन्दा चन्द्रकुमार केसीले बर्षेनी बाढीको समस्या दोहोरीनुमा प्राकृतिक नभई मानवीय कारण प्रमुख रहेको बताउनुभयो । ड्रिलीप आयोजनाले सडक निर्माणमा ढिलाई गर्नु, आयोजनामा अवरोध आउनु र फिलतो अनुगमनका कारण बाढीको समस्या आएको केसीले बताउनुभयो ।
उहाँले सदरमुकामको बस्तीलाई क्षत्ती पु¥याउने र करोडौ खर्च गरेपनि सडकको अवस्था सुधार गर्न नसक्ने ड्रिलीप आयोजना विरुद्ध क्षत्तीपुर्तीको माग गर्दै अदालत जानुपर्ने बताउनु भएको छ । बाढीले बेनीमा एक सय २० घर र ५४ वटा पसलमा एक करोड ३८ लाख रुपैया बराबरको धनमाल क्षत्ती पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आईतबारदेखि सुरु भएको बाढीको थुप्रो पन्छाउने काम मंगलबार सकिएपनि हिलो सुकेर बेनी बजार धुलाम्मे बनेको छ । बजारका केही बासिन्दाहरुले क्याम्पसचोकदेखि कालीपुलतर्फ जाने नाली माथि रहेको घरका धनीलाई क्षत्तीपुर्ती दिएर सहज निकास दिनुपर्ने विकल्प पनि अघि सारेका छन् ।
अर्कोतर्फ बेनी बजारको सार्वजनिक जग्गाको नापी नक्सा पहिचान गर्ने र सोही अनुसार क्याम्पसचोकमा भएको सार्वजनिक जग्गा अतिक्रमण हटाएर नाली बनाउन स्थानीय निकायका अधिकारी र प्रशासकले जोखिम उठाउनुपर्ने अवस्था आएको आवाज पनि भित्रभित्रै उठेको छ ।
मंगलाघाटका बासिन्दा कृष्णबहादुर बानियाँले बेनी पाखापानी सडक महारानीथान देखि आँपरुख हुदै घुमाउनुनै प्राबिधिक हिसावले कमजोरी भएकाले त्यसलाई सुधार गरि महारानी थानबाट अग्नीखेत हुदै घुमाएर अर्थुङ्गे देउराली निकाल्नुपर्ने बताउनुहुन्छ ।
साथै उहाँले अर्थुङ्गेको बस्ती र सेनाको ब्यारेक भन्दा माथिबाट कल्भर्ट हालेर बाढीको पानी पश्चिम तर्फ अधेरी खोल्सामा फाल्ने र पूर्वतर्फ अस्पताल गेट अघिको खोल्साबाट निकासी गर्नुपर्ने बताउनुभयो । बजार माथिबाट परम्परागत रुपमा बग्ने खोल्सामा प्राकृतिक रुपमा पानी बग्न दिएमा बेनी र मंगलाघाटका बस्तीमा बाढी आउने समस्या समाधान हुने बानियाको भनाई छ ।
1 thoughts on “बहश ः बेनीमा बाढीको समस्या कसरी समाधान होला ?”