ताजा समाचार:
Search

आर्थिक स्रोतको अभावमा स्रोत कक्षा सञ्चालनमा समस्या

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३२ जेठ ।
दिगो आर्थिक स्रोतको अभावमा अपाङ्गता भएका बालबालीकालाई शिक्षाको पहुँचमा ल्याउन स्थापीत स्रोत कक्षाहरु सञ्चालन गर्न समस्या भएको छ ।

दृष्टिबिहीन, सुस्त श्रवण र वौद्धीक अपाङ्गता भएका बालबालीकाहरुलाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले सञ्चालीत स्रोत कक्षाहरु संकटमा परेका हुन् । सिंगाको धौलागिरी माविमा बहिरा, बगुवाखोलाको बालजागृती प्राबिमा बौद्धिक अपाङ्गता र पिप्लेको ज्ञानोदय माविमा दृष्टि बिहीन स्रोत कक्षा रहेको छ ।

सरकारले उपलब्ध गराउने अनुदान पर्याप्त नहुँदा स्रोत कक्षाका विद्यार्थीहरुका लागि शैक्षिक, खेलकुद सामाग्री र पोशाकको व्यवस्था गर्न समस्या भएको धौलागिरी माविका प्रअ केशवप्रसाद रेग्मीले बताउनुभयो । तिन वटा विद्यालयले १८ जना सुस्त श्रवण, २२ जना दृष्टिविहीन र २४ जना बौद्धिक अपाङ्गता भएका बालबालीकालाई आवासीय सुबिधा सहित पठनपाठनको व्यवस्था मिलाएका छन् ।DSC00122

दरबन्दिका शिक्षक, तालीम र शैक्षिक सामाग्रीको अभाव प्रमुख समस्या रहेको ज्ञानोदय माविका प्रअ निलकण्ठ सुवेदीले बताउनुभयो । स्रोत कक्षामा अध्ययन गर्ने बालबालीकाहरुलाई जिल्ला शिक्षा कार्यालयले बार्षिक प्रतिव्यक्ति २५ हजार रुपैया छात्रवृत्तीका अतिरित्त सहयोगी सहायता सेवाका लागि पाँच हजार, यातायातलाई तिन हजार र शैक्षिक सामाग्रीका लागि एक हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउदै आएको छ ।

स्रोत कक्षा सञ्चालन, व्यवस्थापन, शिक्षक र सुसारेको तलबका लागि थप एक लाख १५ हजार रुपैयाँ दिइने गरेको विद्यालय निरिक्षक दलबहादुर थापाले बताउनुभयो । प्रवासी नेपाली म्याग्देली संघ (मोना) हङकङले २०७० मा स्थापना गरेको ११११ लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट निजी स्रोतका शिक्षकलाई तलबको व्यवस्था गरेको बालजागृती प्राबिका प्रअ भक्त कार्कीले बताउनुभयो ।

स्रोत कक्षालाई निरन्तरता दिन दिगो आर्थिक स्रोतको खोजी गर्ने उद्देश्यले मंगलबार बेनीमा अपांग संघ र जिल्ला शिक्षा कार्यालयले अन्तरक्रियाको आयोजना गरेका थिए । जिशिअ रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशव आचार्यले सरोकारवालाहरुसंग समन्वय गरेर आर्थिक स्रोतको पहिचान र परिचालन गर्न सुझाव दिनुभयो ।
स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले स्रोत कक्षाका बालबालीकाहरुलाई शैक्षिक, पोशाक र खेलकुदका सामाग्रीका लागि जिविसमा प्रस्ताव ल्याएर आउन अनुरोध गर्दै सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, राजनितिक दलका प्रतिनिधि लगायतले स्रोत कक्षा सञ्चालनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
जिल्ला शिक्षा कार्यालयका लेखाजोखा केन्द्रका संयोजक कल्पना खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । स्रोत कक्षाका अतिरित्त म्याग्दीका सामुदायिक विद्यालयको आधारभुत तहमा अध्ययन गर्ने ४११ र माध्यमीक तहका ६८ जना फरक क्षमत्ता भएका विद्यार्थीलाई वर्गीकरणको आधारमा छात्रवृत्ती उपलब्ध गराइदै आएको छ ।