गाउँभरी नेता,विद्यालयको नतिजा शून्य

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
बैशाख १० गते ।


बेनी नगरपालिका १ रत्नेचौर राजनीतिक रुपमा जिल्ला देखि केन्द्रसम्म पहुँच राख्ने गाउँ हो । नेकपा एमाले,नेपाली कांग्रेस र नेकपा (मओवादी केन्द) गरेर एकदर्जन भन्दा बढी नेताहरु रत्नेचौरमा छन् । नेकपा एमालेबाट केन्द्रिय राजनीतिमा पहुँच राख्ने नेताहरु पनि यही वडामा छन् । तर सामुदायिक विद्यालयको शैक्षिक अवस्था निकै कमजोर छ । रत्नेचौरमा रहेका दुईवटा सामुदायिक विद्यालयको शैक्षिक अवस्था निकै कमजोर देखिएको छ । एकातिर विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै जानु र अर्को तर्फ नतिजा पनि कमजोर हुनुले सामुदायिक विद्यालयको अस्तित्व संकटमा पर्न थालेको छ ।


रत्नेचौरमा रहेको भानु माध्यमिक विद्यालय र रामचन्द्र माध्यमिक विद्यालयको शैक्षिक अवस्था कमजोर भएको छ । नगरपालिकाले संचालन गरेको कक्षा ८ को परीक्षामा भानु माविबाट सहभागी भएका ११ जना विद्यार्थी मध्य कुनैले पनि कक्षा उत्तीर्ण गर्न सकेनन् । त्यस्तै सो वडाको रामचन्द्र माविबाट परीक्षमा सहभागी भएका ११ जनामा ३ जनाले मात्र कक्षा ८ उत्तीर्ण गरे । यसले पनि के देखाउँछ भने राजनीतिक दलका नेता देखि जनप्रतिनिधिहरु सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि कति जिम्मेवार रहेछन् भन्ने कुरा छर्लङ्ग हुन्छ ।

#ADD


यस्तै वडा नम्बर ३ नम्बर वडामा नेकपा (माओवादी केन्द्र) ले दुई पटक वडाको नेतृत्व गरेको छ । भकिम्ली माओवादीको बलियो वडाका रुपमा लिने गरिन्छ । यहाँको एक विद्यालयको नतिजा पनि शून्य भयो । अर्को दुई वटा विद्यालयको नतिजा निकै कमजोर आयो ।
यस्तै माओवादीले नै नेतृत्व गरेको वडा नम्बर ४ सिंगामा रहेका विद्यालयहरुको शैक्षिक अवस्था पनि कमजोर देखियो । यो वडामा रहेका तीन वटा विद्यालयको नतिजा राम्रो छैन । सिंगा पनि माओवादीको बलियो वडा हो ।


यस्तै नेपाली कांग्रेसले वडा जितेको बेनी नगरपालिका ९ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको नतिजा पनि कमजोर छ । नेकपा एमालेले नेतृत्व गरेको वडा नम्बर १० स्थित विद्योदय आधारभूत विद्यालय र दिपक माध्यमिक विद्यालयको नतिजा राम्रो छ ।
बेनी नगरपालिकाको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी ३३ विद्यालय मध्य दुईवटा सामुदायिक विद्यालयको नतिजा शून्य भएको छ भने ११ वटा विद्यालयको नतिजा कमजोर देखिएको छ ।


कक्षा ८ को नगरस्तरीय वार्षिक परीक्षा संचालनका लागि फरक विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष नियुक्त गरी परीक्षा संचालन गरिएको थियो । नगरपालिकाले प्रश्नपत्र तयार पार्नुका साथै नगरपालिकामै उत्तरपुस्तीका परिक्षण गरिएको नगरका शिक्षा शाखा अधिकृत कमलप्रसाद ढकालले बताउनुभयो ।


शिक्षा शाखाले दिएको जानकारी अनुसार परीक्षामा एक संस्थागत र १० वटा सामुदायिक विद्यालयहरुको नतिजा कमजोर देखिएको छ । ति विद्यालयहरुले पचास प्रतिशत विद्यार्थी पनि कक्षा ८ को परीक्षामा उत्तीर्ण गराउन सकेनन् ।


शिक्षा शाखाका अधिकृत ढकालले दिएको जानकारी अनुसार बालमन्दिर आधारभुत विद्यालयबाट १२ जना परीक्षामा सहभागी भएकोमा जम्मा ५ जना उत्तीर्ण भए । बुद्ध एकेडेमी विद्यालय बगरफाँटबाट ८ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा जम्मा ४ जना उत्तीर्ण भए । धौलागिरी मावि सिंगामा २३ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १० जना मात्र उत्तीर्ण भएको शिक्षा शाखाका अधिकृत कमल ढकालले जानकारी दिनुभयो ।


यसैगरी जडभरत शालग्राम गण्डकी संस्कृति विद्यालयबाट ११ जना परीक्षामा सहभागी भएकोमा जम्मा ६ जना उत्तीर्ण भए । जयन्ती मावि भकिम्लीबाट १५ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा २ जना मात्र उत्र्तीण भए । मुसुङडोले आधारभूत विद्यालयबाट १० जना सहभागी भएकोमा ४ जना विद्यार्थी उत्तीर्ण भए ।


पौलत्स्य माविबाट ९ जना विद्यार्थी सहभागी भएकोमा २ जना उत्तीर्ण भए । रामचन्द्र माविबाट ११ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ३ जना मात्र उत्तीर्ण भए । यसैगरी २९ जना परीक्षामा सहभागी भएको सरस्वती मावि सिंगाबाट ८ जना मात्र उत्तीर्ण भए भने उज्यालो वैकल्पिक विद्यालयबाट ७ जना परीक्षामा सहभागी भएकोमा एकजना मात्र उत्तीर्ण भएको शिक्षा अधिकृत ढकालले जानकारी दिनुभयो ।


गत वर्ष भन्दा यसपटक परीक्षा नतिजा सुधार भएपनि सन्तोषजनक नभएको उहाँले बताउनुभयो । गत वर्ष हामीले पाँच विषयमा पाँच÷पाँच अंक ग्रेसमार्क दिँदा ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए उहाँले भन्नुभयो, ‘‘यसपटक हामीले ग्रेस मार्क नदिँदा ७२.५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । उत्तीर्ण प्रतिशतका आधारमा गत वर्ष भन्दा सुधार भएको मान्न सकिन्छ । तर केही विद्यालयको नतिजा अत्यन्तै कमजोर देखिएको छ । यसले गर्दा हामीलाई गम्भिर बनाएको छ । शैक्षिक गुणस्तर सुधार गर्न जनप्रतिनिधि,सरोकारवाला पक्ष र नगरको शिक्षा शाखाले आगामी दिनमा ध्यान दिनुपर्ने देखिएको छ ।’’


परीक्षामा सहभागी ८ सय ८४ विद्यार्थी मध्य ६ सय ४१ उत्तीर्ण र दुईसय ३७ विद्यार्थी अनुत्तिर्ण भएको शिक्षा शाखाले जानकारी दिएको छ । शाखाका अनुसार विद्यालयले संचालन गर्ने ग्रेड वृद्धिको परीक्षामा एकसय ७३ जना विद्यार्थी सहभागी हुँदै छन् । शिक्षकहरुको आन्दोलनका कारण ग्रेड वृद्धि परीक्षा हुनसकेको छैन ।


नगरपालिकाको शिक्षा शाखाका प्रमुख उपसचिव क्षेत्रबहादुर भण्डारीले विद्यालयको नतिजा सुधार गर्नका लागि शिक्षक,अभिभावक,जनप्रतिनिधि र सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभयो । कमजोर विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले शैक्षिक सुधारको कार्ययोजना बनाएर अघि बढ्ने योजना बनाएको शिक्षा शाखाका प्रमुख भण्डारीले बताउनुभयो । नवविकल्प साप्ताहिकमा प्रकाशित