ठाकुरप्रसाद आचार्य
म्याग्दी,माघ १७ गते ।
म्याग्दीमा चारहजार ७ सय ६१ जना छात्रा तथा किशोरीलाई एचपीभी खोप दिइने भएको छ । जिल्लाको ६ वटै स्थानीय तहहरुमा माघ २२ गते २९ गते सम्म छात्रा तथा किशोरीहरुलाई खोप लगाउने तयारी गरिएको छ । यो खोप लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगिन सकिन्छ । नेपालमा महिलाहरुमा पाठेघरको मुखमा हुने क्यान्सर रोगले दैनिक रुपमा चारजनाको ज्यान जाने गरेको छ ।
खोप अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले बुधबार प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्लाका पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
खोप लगाउनका लागि विद्यालय र स्वास्थ्य संस्था गरी एकसय ४२ वटा खोप केन्दको व्यवस्था गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार ६ स्थानीय तहमा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा ४ हजार ६ सय ८८ र विद्यालय बाहिर रहेका ७३ जना किशोरी गरी चारहजार ७ सय ६१ जनालाई एचपीभी खोप दिइने तयारी भएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले जानकारी दिनुभयो ।
अन्नपूर्ण गाउँपालिकामा ३ सय ९७ जना,रघुगंगामा ४ सय ९५ जना,बेनी नगरपालिकामा एकहजार ८ सय ६८जना, मंगला गाउँपालिकामा पाँचसय ६४ जना,मालिका गाउँपालिकामा ८ सय २९ जना र धवलागिरि गाउँपालिकामा ६ सय ८ जना किशोरीहरुलाई एचपीभी खोप लगाउने तयारी गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो । खोपको तयारीका लागि स्थानीय तह र स्वास्थ्य कार्यालयमा रहेका स्वास्थ्यकर्मीहरु जुटेको उहाँले बताउनुभयो ।
खोप अभियानलाई प्रभावकारी रुपमा संचालनका लागि स्थानीय तहहरुमा वैठक र अभिमुखीकरण लगायतका कामहरु संचालन गरिएको प्रमुख ठकुराठीको भनाई छ ।
खोप कार्याक्रमलाई प्रभावकारी बनाउन सबै सरोकारवालाले पहल गर्नुपर्ने र त्यसका लागि विद्यालय र पालिकास्तरका स्वास्थ्य शाखाले प्रभावकारी भूमिका खेल्न जनस्वास्थ्य कार्यालयले अनुरोध समेत गरेको छ ।
कार्यक्रमको संचालन जनस्वास्थ्य कार्यालयका वरिष्ठ प्रशासन सहायक भावना शर्माले गर्नुभएको थियो ।
एचपीभी खोप अभियान ः
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाठेघरको क्यान्सरविरुद्धको खोप अभियानमा जुटेको छ । आउँदो माघ २२ देखि फागुन ६ गतेसम्म करिब १७ लाख बालिकालाई पठोघरको मुख्यको क्यान्सर गराउने भाइरसविरुद्धको खोप दिइँदै छ । राष्ट्रव्यापी अभियान सञ्चालन गरी ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप दिन लागिएको हो ।
१० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ बालिकालाई यो खोप दिइने स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । ‘डेमोस्ट्रेसन’का रूपमा गएको भदौमा १४ वर्ष पूरा भई १५ ननाघेका १० हजार बालिकालाई यो खोप दिइएको थियो ।
विद्यालयलाई मुख्य केन्द्र बनाएर खोप दिन लागिएको छ । स्वास्थ्य संस्थाबाट पनि खोप दिइनेछ । ६ देखि १० कक्षासम्मका छात्रा वा १० देखि १४ वर्षसम्मका किशोरीलाई यो खोपको लक्षित वर्गमा राखिएको छ ।
किन लगाउने एचपीभी खोप ः
पाठेघरको मुखको क्यान्सर गराउने २०० प्रजातिका भाइरसमध्ये १६ र १८ प्रमुख कारक रहेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ । नेपालमा पनि पाठेघरको मुखको क्यान्सर गराउने ८० प्रतिशत कारक यिनै दुई प्रजाति भएको पाइएको छ ।
वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. सरिता घिमिरेका अनुसार, पाठेघरको क्यान्सर गराउने भाइरस (एचपीभी) छालामा कतै न कतै रहेको हुन्छ । स्वस्थ शरीरले यसलाई दबाएर राखेको भए पनि भाइरस व्याप्त रहन्छ ।
किशोरावस्थाको प्रारम्भिकस्तरमा शारीरिक सम्पर्कअगावै खोप दिइँदा भाइरसबाट सुरक्षित हुन सक्ने विभिन्न अध्ययनको निष्कर्ष छ । सोही कारण १४ वर्षसम्मका बालिकालाई खोप दिन लागिएको हो ।
खोप कति प्रभावकारी ?
हाल दिन लागिएको सिकोलिन खोप यी दुई प्रजाति १६ र १८ विरुद्ध तयार गरिएको हो । एक डोज मात्र दिइने यो खोपको प्रभावकारिता ९६ प्रतिशत रहेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पुष्टि गरेको छ ।
नेपालमा यसअघि एचपीभीविरुद्धको दुई डोजवाला खोप दिइएको थियो । हाल दिन लागिएको एक डोज र यसअघिका सबैखाले खोपले भाइरसविरुद्ध अन्तिम सतहसम्मै पुगेर काम गर्ने हुन्छ । एन्टिबडीको लेभल पनि उस्तै भएकाले एक डोज उत्तिकै प्रभावकारी रहेको छ ।
यो खोप लगाएकै कारण बालिकाको मृत्यु भएको घटना विश्वका कुनै पनि देशमा हालसम्म रेकर्डमा नरहेको चिकित्सको भनाई छ ।
परिवार कल्याण महाशाखाको तथ्यांकानुसार, पाठेघरको मुखको नयाँ बिरामी देखिने दर १६.४ प्रतिशत प्रतिलाख छ । हाल नेपालमा पाठेघरको मुखको क्यान्सरबाट दैनिक औसत चारजनाको मृत्यु भइरहेको महाशाखाको तथ्यांक छ । सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रूपमा रहन नदिने अर्थात् निवारण गर्ने डब्ल्यूएचओको लक्ष्य छ ।
ग्लोबल अलायन्स फर भ्याक्सिन ९गाभी०सँगको सहवित्तीयकरणमा नेपालले १७ लाख जनसंख्याका निम्ति खोप भित्र्याएको छ । यो खोपमा सरकारको प्रतिडोज करिब ४०० रुपैयाँ लगानी रहेको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल बताउँछन् ।
अरू देशमा पनि दिइन्छ यो खोप ?
डब्ल्यूएचओका अनुसार, एचपीभीविरुद्धको खोप हाल विश्वका १४४ देशमा नियमित रूपमा दिइँदै छ । नेपालमा दिइनेजस्तै एक डोजवाला खोप ६१ देशले दिइरहेका छन् । ७७ देशमा विद्यालयबाट नै दिइएको खोप कार्यक्रम प्रभावकारी भइरहेको डब्ल्यूएचओको रिपोर्ट छ ।
०.५ एमएलका दरले दिइने यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेकाले अभियानमा अनिवार्य रूपमा सहभागी हुन उक्त शाखाले आग्रह गरेको छ ।
असर देखिन्छ ?
एचपीभी खोप लगाएपछि केही सामान्य असर देखिन सक्ने खोप शाखाले जनाएको छ । सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, हल्का ज्वरो, वाकवाकी, टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखिन सक्ने डा। गौतमले जानकारी दिए । यस्ता लक्षण केही समयपछि आफैँ ठिक हुने भएकाले नआत्तिन उनको अनुरोध छ ।
रजस्वलाको समयमा पनि खोप लगाउन मिल्ने र यसले महिनावारी छिटो वा ढिलो हुनेमा कुनै असर नपार्ने चिकित्सकको भनाई छ । खोप लगाउने किशोरी विद्यार्थी भए परिचयपत्र र नभए उमेर खुल्ने प्रमाणपत्र लैजान आग्रह गरिएको छ ।