विकल्प न्यूज/बेनी
चैत २५ गते ।

बेनी देखि ग्रामिण वस्ती जोड्ने सडक ढलान पछि आवतजावतमा सहज भएको छ । बेनी नगरपालिका र रघुगंगा गाउँपालिका जोड्ने बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक अन्तर्गत बेनी–पाखापानी सडकको प्रवेश विन्दु,रातोपहिरो र बेनी नगरपालिका वडा नम्बर १० स्थित पात्लेखेतमा गरी नौसय ८ मिटर सडक स्तरोन्नति सहित ढलान गरेपछि यात्रा सहज भएको हो ।
जिर्ण सडक र पहिरो कारण आवतजावतमा समस्या भएपछि बेनी नगरपालिकाले सडक स्तरोन्नति गरी सहज बनाउन चालु आर्थिक वर्षमा संघीय सरकारको समपुरक अनुदान एककरोड पचास लाख र बेनी नगरको एककरोड पचास लाख गरी तीन करोड रुपियाँ लागतमा सडक स्तरोन्नति योजना अघि बढाएको थियो ।
बेनी नगरपालिकाले सडक स्तरोन्नति गर्न वि.स.२०८२ असार २५ गते भित्र निर्माण सम्पन्न गर्नेगरी गत पुस १९ गते दुई करोड ९ लाख रुपियाँमा विकेश दुप्चेश्वर सुभम जेवी सँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता लगत्तै कार्यस्थलमा परिचालन भएको ठेकेदारले सडक निर्माणको कामलाई तिव्रता दिएसँगै सम्झौता मिति भन्दा तीन महिना अगावै योजना सम्पन्न हुनलागेको बेनी नगरपालिकाका इन्जिनियर सुदिप गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेनी देखि अर्थुङ्गे हुँदै पाखापानी जोड्ने सडक अन्तर्गत सबैभन्दा अफठ्यारो स्थानमा सडक स्तरोन्नति सहित सडक ढलान,नाली निर्माण,ग्याविन झाली लगाउने,प्लम वाल निर्माण,घुम्ती सुधार र मेशनरी पर्खाल निर्माण गरी सडकलाई सहज पारिएको छ ।
ठेक्काको म्याद असार २५ गते सम्म भएपनि मजदुर र उपकरण परिचालन गरेर तीन महिना अगावै योजना सम्पन्न हुनलागेको निर्माण कम्पनीका प्रतिनिधि सुवास कार्कीले बताउनुभयो । सडक स्तरोन्नति भएपछि बेनी नगरपालिकाका ६,७,९ र १० नम्बर वडाका करिब पाँचहजार जनसंख्या लाभान्वित हुने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।
तत्कालीन जिल्ला विकास समितिले २०५६ सालमा यो सडकको ट्रयाक खोलेको थियो । ट्रयाक खुलेको २५ वर्ष पछि अहिले यो सडक संघीय सरकार,स्थानीय तह र प्रदेश सरकारको बजेटबाट विभिन्न खण्डमा सडक स्तरोन्नति सहित सडक कालोपत्रे र सडक ढलान गर्ने योजना अघि बढाइएको छ ।
#ADD

बेनी–अर्थुङ्गे–घतान–तोरीपानी–पाखापानी सडकअन्तर्गत वडा नम्बर ९ को किराखोर देखि गलेश्वर मावि तोरीपानीसम्मको चार किलोमिटर सडक गण्डकी प्रदेश सरकारको बजेटबाट गत वर्ष देखि सडक स्तरोन्नति सहित कालोपत्रको योजना अघि बढाइएको छ ।
गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटलाई पूर्वाधार विकास कार्यालय म्याग्दीले बहुवर्षीय ठेक्का मार्फत कार्यान्वयन गरेको छ । सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रा.लिसँग भ्याट बाहेक १० करोड १६ लाख एक हजार ३६४ रुपियाँमा दुई वर्ष भित्रमा योजना सम्पन्न गर्न २०८१ जेठ २० गते ठेक्का सम्झौता थियो ।