ठाकुरप्रसाद आचार्य
बैशाख १ गते ।
पर्वतको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गरेपछि नतिजामा सुधार आएको छ । शैक्षिक गुणस्तर कमजोर भएपछि पालिकाले दुईवर्ष अघि देखि गुणस्तर वृद्धिका लागि कार्ययोजना निर्माण गरी लागू गरेको थियो ।

पालिकाले आइतबार प्रकाशित गरेको आधारभूत तहको शैक्षिक नतिजामा सुधार आएको देखिएको छ । गाउँपालिकाले संचालन गरेको कक्षा ८ को पालिका स्तरीय परीक्षमा गत वर्ष भन्दा यस वर्षको नतिजामा उल्लेख्य सुधार भएको गाउँपालिकाका शिक्षा शाखाका अधिकृत यज्ञप्रसाद लामिछानेले बताउनुभयो ।
गाउँपालिकाले गत फागुन २५ देखि चैत ६ गते सम्म आधारभूत तह अन्तर्गत कक्षा ८ को परीक्षा संचालन गरेको थियो । प्रकाशित नतिजा अनुसार गाउँपालिका भित्र रहेका दुई संस्थागत र १४ सामुदायिक गरी १६ विद्यालयका एकसय ८६ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा एकसय ३७ जना विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत लामिछानेले जानकारी दिनुभयो । गत वर्ष ४६ प्रतिशत उत्तीर्ण भएकोमा अहिले ६२ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनुले शैक्षिक गुणस्तरमा क्रमशः सुधार हुँदै गएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘‘गत वर्षको तुलनामा यस वर्ष कक्षा ८ को नतिजामा धेरै सुधार देखियो । गत वर्ष दुईसय ३० जना विद्यार्थी मध्य जम्मा ७४ जना उत्तीर्ण भएका थिए । दुई विद्यालयको नतिजा शून्य भएको थियो । यसवर्ष समग्ररुपमा कक्षा ८ को नतिजामा अपेक्षाकृतरुपमा सुधार भएको देखियो ।’’
पालिका भित्र रहेका १३ विद्यालयको नतिजा धेरै सुधार भएको देखियो उहाँले भन्नुभयो, ‘‘ ती विद्यालयमा ६१.५३ प्रतिशत देखि सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । दुईवटा विद्यालयमा पचास प्रतिशत भन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् । एउटा विद्यालयमा ५५.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।’’ श्री कृष्णभवन धर्म माविबाट ११ जना परीक्षामा सहभागी भएका मध्य ५ जना मात्र उत्तीर्ण भए भने लुङ्गदी आधारभूत विद्यालयमा ९ जना मध्य ३ जना मात्र परीक्षामा उत्तीर्ण भए । बनौं माविबाट ९ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ५ जना उत्तीर्ण भए ।
#ADD

जनकल्याण माविले सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । शिव मावि फर्सेबाट १५ जनाले परीक्षा दिएकोमा १४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । श्री फर्से धाइरिङ माविबाट ८ जना परीक्षामा सहभागी मध्य ७ जना उत्तीर्ण भएका छन् । यसैगरी शान्ति आधारभूत विद्यालयबाट ९ जनाले परीक्षा दिएकोमा ७ जना उत्तीर्ण भएका छन् । मालिका आधार भूत विद्यालयले पनि सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ ।
शालिजा माविबाट १४ जनाले परीक्षामा सहभागी भएकोमा ११ जना विद्यार्थी उत्तीर्ण भएका छन् । ज्योति माविले पनि सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ ।
ग्रामप्रकाश माविबाट १३ जना विद्यार्थीले परीक्षामा सहभागी भएकोमा ८ जना उत्तीर्ण भए । फट्केढुङ्गा आधारभूत विद्यालयबाट ६ जनाले परीक्षा दिएकोमा ४ जना उत्तीर्ण भए । अमृत आदर्श प्याराडाइज एकेडेमीबाट २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा २१ जना उत्तीर्ण भए । न्यू होराइजन माविबाट २१ जनाले परीक्षा दिएकोमा १५ जना उत्तीर्ण भएको शिक्षा शाखाले जनाएको छ ।
#ADD

विद्याज्योति माविबाट २६ जनाले परीक्षा दिएकोमा १६ जना उत्तीर्ण भएका छन् । ज्योतिमण्डल माविबाट ७ जनाले परीक्षा दिएकोमा ५ जनाले उत्तीर्ण गरेका छन् । परीक्षा संचालनका लागि गाउँपालिकाले परीक्षा केन्द्र तोकेर केन्द्राध्यक्षको समेत व्यवस्था गरी अनुगमन गर्ने व्यवस्था मिलाएर परीक्षा संचालन गरिएको शिक्षा शाखाका अधिकृत लामिछानेले बताउनुभयो । सबै उत्तरपुस्तिकालाई गाउँपालिका केन्द्रमा संकलन पश्चात कोर्डिङ गरेर विषय विशेषज्ञ शिक्षकबाट उत्तरपुस्तिकाको जाँचेर नतिजा सार्वजनिक गरिएको उहाँले बताउनुभयो ।
गत वर्ष शून्य विद्यार्थी उत्तीर्ण गराएका विद्यालयले यसवर्ष सुधार गरेको उहाँले बताउनुभयो । गत वर्ष शालिजा माध्यमिक विद्यालय र ज्योती माविको नतिजा शून्य आएको थियो । यस वर्ष भने ती विद्यालयले नतिजामा सुधार ल्याएको शिक्षा शाखाका अधिकृत लामिछानेले बताउनुभयो ।
गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि संचालन गरेको शैक्षिक सुधार कार्यक्रमको प्रतिफल प्राप्त हुनथालेको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि शैक्षिक कार्ययोजना निर्माण गरेर लागू गरेको उहाँको भनाई छ ।
#ADD

उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शैक्षिक कार्ययोजना निर्माण गरी लागू गरेका छौं । जनप्रतिनिधि, शिक्षक,विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवालाहरुलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि जिम्मेवार बनाउँदै शैक्षिक जागरण र चेतनाको अभिवृद्धीमा पालिका जुटेको छ ।’’