जलजला फर्सेकी सावित्री खत्रीको लोभलाग्दो च्याउखेती

पर्वत, चैत २६ गते ।

जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्रीले च्याउ र तरकारीखेतीबाट बर्सेनि १२ लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । 

चार वटा गुम्बज टनेलमा कन्ये र गोब्रे च्याउखेती उत्पादन गरी छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतको कुश्मा बजारमा खपत गर्ने गरेको अगुवा कृषक खत्रीको भनाइ छ । यस वर्ष च्याउबाट मात्रै सात लाखभन्दा बढी आम्दानी भएको उहाँले बताउनुभयो । “च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु, उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन,” कृषक खत्रीले भन्नुभयो । गोब्रे च्याउको प्रतिकिलो ५०० र कन्येलाई २०० मा बिक्री गर्ने गरेका उहाँले गोब्रे च्याउबाट यस वर्ष  पाँच लाख र कन्ये च्याउबाट दुई लाख आम्दानी भएको बताउनुभयो । 

#ADD

कच्चापदार्थसहितका साम्रगीसमेत तयार गर्ने गर्नुभएकी कृषक खत्रीले सात रोपनी जमिनमा उत्पादन हुने अन्य तरकारीबाट पाँच लाखको बिक्री गर्नुहुन्छ । च्याउबाहेक मौसमअनुसार काँक्रो, घिराैँला, बोडी, सिमी, करेला, भन्टा, खुर्सानी, धनियाँ, गाजरलगायतका तरकारी उत्पादन गर्दै आएको बताउनुभयो । 

तीनवटै जिल्लाका सदरमुकाम नजिकै रहेको र कालीगण्डकी काेरिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक नजिकै रहेकाले उत्पादित च्याउ र तरकारी बजारीकरणमा समस्या नरहेको उहाँले बताउनुभयो । खत्रीले यस वर्ष उच्च प्रविधिको टनेल थपेर बाह्रै महिना च्याउखेती गर्न थाल्नुभएको छ । उहाँले वातानूकुलित टनेलमा जाडो तथा गर्मी दुवै याममा च्याउ उत्पादन हुने बताउनुभयो । अब च्याउखेतीबाट निरन्तर आम्दानी हुने उहाँले बताउनुभयो । 

सामाजिक एवं राजनीतिक रूपमा सक्रिय रहनुभएकी खत्रीले राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा च्याउखेतीलाई विस्तार गर्दै जानुभएको छ । वैदेशिक रोजगारीबाट फर्किनुभएका श्रीमान् भीमबहादुर केसीले च्याउ र अन्य तरकारीखेतीको उत्पादन तथा बजारीकरणमा सघाइरहनुभएको छ । अहिले दम्पतिका अलावा समय–समयमा ज्यालादारी मजदुर खोजेर तरकारीखेती गर्ने गरेको उहाँको भनाइ छ । 

खेती गर्नलाई धेरै ठुलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो भएकाले यसप्रति श्रीमानले विदेश नगई सघाउन थालेको खत्रीले बताउनुभयो । मेहनत गर्ने हो श्रीमानले विदेशमा कमाउने पैसा दुवै मिलेर यहीँ दुःख गरी कमाउन सकिने खत्रीको अनुभव छ । खत्रीले च्याउखेतीबाट भएको कमाईले छोरीलाई उच्च शिक्षाका लागि विदेश पठाउन सफल हुनुभएको छभने छोरालाई समेत निजी विद्यालयमा पढाउनुभएको छ । यसका अलावा बैङ्कमा बचत गर्न सफल भएको उहाँले बताउनुभयो । मेहनत र परिश्रम गर्ने हो भने पैसा कमाउन विदेश जान पर्दो रहेन छ भन्ने आफ्नो अनुभवले देखाएको उहाँले बताउनुभयो । 

पछिल्लो समय गाउँपालिकामा व्यावसायिक रूपमा लाग्ने कृषकको आकर्षण बढेको रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । “गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, अबका दिनमा च्याउखेतीमा अनुदान समेत बढाउँछौँ,” आचार्यले भन्नुभयो । च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो । च्याउमा तरकारी तथा मासुमा पाइने सबै प्रकारका प्रोटिन तत्व पाइने र सजिलैसँग पचाउन सकिने भएकाले बच्चादेखि वृद्धवृद्धाका लागि अति उपयोगी छ । च्याउमा पानीको मात्रा ९० प्रतिशत पाइने हुनाले यो एकदम महत्त्वपूर्ण मानिन्छ । च्याउले क्यान्सर, मुटुरोगजस्ता रोग लाग्नबाट बचाउँछ । रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *