ठाकुरप्रसाद आचार्य
बैशाख १ गते ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानामा रहेको रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण योजना संचालन गरिएको छ । कालिगण्डकी कोरिडोरमा पर्ने प्रशिद्ध रुप्से झरनालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले साढे तिन करोड रुपियाँ भन्दा बढी लागतमा पर्यटकीय संरचनाहरु निर्माण थालिएको हो ।

संंघीय सरकारबाट प्राप्त भएको विशेष अनुदानबाट गाउँपालिकाले पूर्वाधार निर्माण थालेको उपाध्यक्ष दीवाकुमारी तिलिजाले बताउनुभयो । मुस्ताङ भ्रमणका लागि जाने पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले झरनामा तीन करोड ६५ लाख रुपियाँ बराबरको लागतमा पर्यटकीय संरचनाहरु निर्माण थालिएको उहाँले बताउनुभयो ।
संघीय सरकारबाट प्राप्त भएको बजेटलाई गाउँपालिकाले गत वर्ष बहुवर्षीय ठेक्का लगाएको थियो । गाउँपालिकाले २०८२ पुस २५ गते भित्र निर्माण सम्पन्न गर्नेगरी गत वर्षको जेठ ३० गते सुन्दर निर्माण सेवा कास्की सँग तीन करोड २३ लाख ५५ हजार ३६९ रुपियाँमा ठेक्का सम्झौता गरी संरचना निर्माण सुरु गरिएको गाउँपालिकाका सब इन्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो ।

उहाँका अनुसार झरनामा टिकट काउन्टर,शौचालय,झरनामा फलामको रेलिङ, भ¥याङ, पदमार्ग र खाजाघर लगायतका पूर्वाधार निर्माण थालिएको छ । रुप्से झरनादेखि माथि रहेको बाजा बजाउने ढुङ्गामा पार्क, गोलघर र भ्यूप्वाइन्ट समेत निर्माण गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
निर्माण व्यवसायीले दैनिक २० देखि २५ जना सम्म मजदुर परिचालन गरेर झरनामा संरचना निर्माण थालेको गाउँपालिकाका सव–इन्जिनियर मोहम्मद करिमुल्लाह मियाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सम्म योजनामा १५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।
यतिखेर निर्माण व्यवसायीले पदमार्ग,स्टिल भ¥याङ लगायतका संरचनाहरु निर्माण थालेको पालिकाका सव–इन्जिनियर मियाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘केही समय निर्माण व्यवसायीले काम रोकेको थियो । कार्यालयका तर्फबाट ताकेता गरेपछि फेरी सुरु भएको छ । आगामी आर्थिक वर्षको पुस महिना भित्र निर्माण सम्पन्न गर्ने गरी पालिकाले ताकेता गरेको छ ।’’
#ADD

कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा पर्ने रुप्से झरना मुस्ताङ भ्रमणमा आउने पर्यटकको आकर्षणको केन्द्र बनेको छ । चार वर्षअघि रुप्से झरनामा आएको भिषण बाढी र पहिरोले यहाँ बनेका पूर्वाधार बगाएको थियो । पूर्वाधार बगाएपछि पुनः पर्यटन पूर्वाधार निर्माण गरी पर्यटकीय स्थलका रुपमा विकास गर्न गाउँपालिका जुटेको उपाध्यक्ष तिलिजा पुनले बताउनुभयो ।