म्याग्दी, चैत २९ गते ।

एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ९ जनालाई जिल्ला अदालत म्याग्दीले एक÷एक वर्ष कैद सजायको फैसला गरेको छ । यसअघि हत्याका मुख्य अभियुक्त ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो ।
बुधवार न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले उत्सव पुन, मनिष तिलिजा,सञ्जन खत्री, प्रवीण जिसी,सविन राई,सोहन बरुवाल, परिवर्तित नाम ४३ (व), ४३ (त) र ४३ (फ)लाई १ वर्षको सजाय तोकिएको जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले जानकारी दिनुभयो । अभियुक्तले पुर्पक्षका लागि १ वर्ष दुई महिना कारागार र सुधार केन्द्रमा बिताएकाले बुधवार नै रिहा भएका छन् । उनीहरूलाई हत्या प्रकरणमा मुख्य अभियुक्तलाई मतियार बनेको ठहर गर्दै एक वर्षको सजाय तोकिएको हो ।
१६ वर्षभन्दा कम उमेरको भएका कारण ४३ (ध) ले १६ वर्ष १० महिना ७ दिन कैद भुक्तान गर्नुपर्ने जिल्ला अदालत म्याग्दीले जनाएको छ । १४ देखि १६ वर्ष उमेर समूहका ४३ (ड) र ४३ (म)ले १२ वर्ष छ महिना सजाय भुक्तान गर्नुपर्ने कानुनी व्यवस्था छ । रघुगङ्गा गाउँपालिका–१, बेग घर भई बेनी नगरपालिका–८, पिपलचोकका २१ वर्षीय गर्बुजाको २०८० माघ ११ गते साँझ बेनी–८ न्युरोडमा चक्कु प्रहार गरी हत्या भएको थियो । २०८० फागुन १० गते अदालतले सुशीलको हत्यासम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेका १३ मध्ये आठ जना वयस्कलाई कारागार र ५ नाबालकलाई सुधार गृह पठाउन आदेश दिएको थियो ।
चैत १७ गतेको फैसला अनुसार, ६ जनालाई जन्मकैद (जनही २५ वर्ष) शङ्कर घर्ती, अमृत पुर्जा,सफल खत्री, परिवर्तित नाम ४३ (ध), ४३ (ड) र ४३ (म)लाई जन्मकैदको सजाय भएको जिल्ला अदालतका सूचना अधिकारी पौडेलले बताउनुभयो ।
अदालतले सुशीलको हत्यासम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेका १३ मध्ये आठ जना वयस्कलाई कारागार र पाँच नाबालकलाई सुधारगृह पठाउन आदेश दिएको थियो भने ४३ (ह) र गगन गर्बुजा अझै फरार छन् । त्यसै गरी हत्यामा दोषी ठहरिएका मुख्य अभियुक्त ६ जनाबाट जनही एक लाख रुपियाँ र ९ जनाबाट जनही २५ हजार रुपियाँ मृतकका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने अदालतले फैसला गरेको छ ।