ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
बाबियाचौर(म्याग्दी) जेठ १८ गते ।
म्याग्दीको बाबियाचौर ८ मा दुई वर्षअघि सुरु भएको रणवाङ सिचाई आयोजना निर्माण कार्य अहिले अन्तिम चरमा पुगेको छ । बाबियाचौर स्थित दुखु खोलाबाट तिनहजार मिटरको नहर बनाइ रणवाङमा सिँचाइ गर्ने लक्ष्यका साथ सुरु गरिएको आयोजनाका काम अहिले द्रुत गतिमा बढेको हो ।
चालु आर्थिक वर्षमै सक्ने गरि आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको सिँचाई सव डिभिजन कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर रमेशराज शर्माले बताउनुभयो । गत भदौमा कार्यालय म्याग्दीमा स्थापना भएपछि आयोजनाको कामले तिव्रता पाएको उहाँले बताउनुभयो । सिमित जनशक्तिका वावजुद पनि म्याग्दीमा सिँचाइ आयोजनाका कामहरु तिव्ररुपमा अगाडी वढेको शर्माले जानकारी दिनुभयो । नहर बनाउने काम सकिएको छ । मुहानमा पोलीथिन पाइप जडान गर्दै छौ । उपभोक्ता समितिका अध्यक्ष लक्षीन मल्लले भन्नुभयो, ‘आयोजना यही असार मसान्त भित्रमा सक्ने गरि जुटेका छौ।’ यसवर्ष नहरको पानीले धानरोप्न किसानहरु आतुर भएको उहाँले बताउनुभयो । आयोजना सम्पन्न गर्नका लागि स्थानीय उपभोक्ताहरुले दैनिकरुपमा श्रमदान गरेका छन् ।
आयोजना सम्पन्न भएपछि रणवाङमा व्यवसायिक रुपमा तरकारी खेतीको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको अध्यक्ष मल्ले बताउनुभयो । उहाँका अनुसार आयोजना सम्पन्न भएपछि रणबाङमा वाह्ै महिना सिँचाई उपलब्ध हुनेछ ।
चितवनको ईको विल्डर्सले ८९ लाख २५ हजार २९९ रुपैयाँमा आयोजना निर्माण गर्ने ठेक्का लिएको थियो । २०७२ असारमा पौष मसान्तसम्म सम्पन्न गर्ने गरि सम्झौताको म्याद थपिएपनि पुरा नभएपछि आगामी असारसम्मका लागि पुन म्याद थपिएको सिँचाइ सव डिभिजन कार्यालयले जनाएको छ ।
२०७२ असार मसान्तमा सक्ने गरि २०७१ बैशाख १६ गते सुरु गरिएको आयोजना गतवर्ष गएको भुकम्प र नाकाबन्दीका कारण निर्माण कार्य प्रभावित बनेको थियो । उक्त आयोजना सम्पन्न भएमा बाबियाचौरको रणवाङ क्षेत्रको ५५ हेक्टर जमिनमा सिचाई सुबिधा पुग्ने जनाइएको छ ।
आयोजनाको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल,कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालयका प्रमुख शेखरचन्द्र केसीले सोमबार स्थलगत अनुगमन गर्नुभएको हो ।