ताजा समाचार:
Search

म्याग्दीमा बहुसरोकारवाला वन कार्यक्रमको अनुगमन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १७ जेठ ।
म्याग्दीका सरोकारवालाहरुको तिन वटा छुट्टा, छुट्टै टोलीले सोमबार बहुसरोकारवाला वन कार्यक्रम मार्फत भएका गतिबिधिहरुको अनुगमन गरेको छ ।

गैरसरकारी संस्था लिवर्डले स्थानीय साझेदारी संस्था संगम र सामुदायीक वन उपभोक्ता महासंघ मार्फत वन तथा वातावरण संरक्षण र आयआर्जन वृद्धीका लागि लगानी गरेका योजनाहरुको अनुगमन गरिएको हो ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवाल, विषयगत कार्यालय, राजनितिक दल, उद्योग वाणिज्य संघ र पत्रकारहरुको सहभागिता रहेको थियो ।DSC02425

तिन वटा टोलीले पश्चिम, राहुघाट र कालीगण्डकी क्षेत्रमा भएका गतिबिधिहरुको स्थलगत अनुगमन गरेको लिवर्डका जिल्ला प्रतिनिधि ईन्द्र कार्कीले बताउनुभयो । म्याग्दीका १९ वटा गाविस र ७४ वटा सामुदायीक वन समूहमा लागु भएको परियोजनाको अवधि सोमबार सकिएको छ ।

बहुसरोकारवाला वन कार्यक्रम मार्फत सामुदायिक वनका विपन्न उपभोक्ताको आयआर्जनका लागि सहुलियत दरमा बिनाधितो ऋण, स्थानीय जलवायु परिवर्तन अनुकुलन योजना निर्माण र वातावरण संरक्षण तथा वन व्यवस्थापन सम्बन्धि क्रियाकलापमा पाँच करोड रुपैयाँ भन्दा बढी लगानी भएको छ ।

घतान र पाखापानी ईलाका वन कार्यालय अन्तरगतका योजना तथा कार्यक्रमको अनुगमनमा सहभागि जिल्ला वन अधिकृत जयसवालले कार्यक्रम मार्फत नविनतम क्रियाकलापको सुरुवात भएको र त्यसलाई दिगो बनाउन सामुदायीक वन उपभोक्ता समूहले निरन्तरता तथा चासो देखाउनुपर्ने बताउनुभयो ।

लक्षित समुदायका प्रतिनिधिहरुले परियोजनाको सहयोगमा विभिन्न गतिबिधिको भर्खरै सुरुवात हुन लागेको अवस्थामा परियोजना फिर्ता हुदाँ दुख लागेको बताउँदै ति गतिबिधिलाई निरन्तरता दिन सरकारी निकायबाट सहयोगको अपेक्षा व्यक्त गरे । परियोजनाले कतीपय सकारात्मक काम गरेपनि समुदायलाई सामान्य कामका लागि पनि अरुको मुख ताक्ने प्रवृती बढाएको पाइएको छ ।