सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १७ जेठ ।
बर्षौदेखि परम्परागत रुपमा जंगलमा फिरन्ते शैलीमा भेडापालन गर्दै आएका म्याग्दीको पश्चिमी क्षेत्रका कृषकहरु संगठीत भएका छन् ।
जिल्ला पशु सेवा कार्यालयले आईतबार ताकममा गरेको भेडापालक कृषकहरुको भेलाबाट गुर्जाका रेशम छन्त्यालको अध्यक्षतामा १० सदस्यीय म्याग्दी धौलागिरी भेडापालन समिति गठन भएको हो ।
भेडापालक कृषकको समस्या पहिचान र समाधानका लागि समन्वय गर्ने, सरकारले उपलब्ध गराउने भ्याक्सीन, औषधी, घाँस, आवश्यक औजार र प्राबिधिक सेवा सुबिधा सहज रुपमा प्राप्त गर्न पहल गर्ने उद्देश्यले गठन भएको समितिको उपाध्यक्षमा बेलबहादुर गर्बुजा, सचिवमा किसान पुन र कोषाध्यक्षमा उमादेवी घर्ती रहनुभएको छ । यसैगरी समितिका सदस्यहरुमा बमे छन्त्याल, अमृत छन्त्याल, झकबहादुर पाईजा, समलाल बिक, जितबहादुर छन्त्याल र मिनबहादुर छन्त्याल रहनुभएको छ । मुल समिति अन्तरगत पाँच वटा समूह गठन गरिएको छ ।
ति समूहमा आवद्ध कृषकहरुलाई दश वटा खसी पार्ने बडीजो मेसीन, १५ वटा उन काट्ने कैची, जुकाको अलबेन्दाजोल र जुम्रा किर्ना मार्ने औषधी निशूल्क वितरण गरिएको थियो ।
भेलामा जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक दयाराम चापागाईले भेडापालन ब्यवसायलाई ब्यवस्थित, ब्यवसायीक बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले चरन क्षेत्रको व्यवस्थापनका लागि समिति मार्फत कार्यालयले विभिन्न कार्यक्रम गर्न बताउनुभयो । यसअघि कालीगण्डकी र राहुघाट क्षेत्रमा भेडापालक कृषक समिति गठन भैसकेको छ ।
भेलामा सहभागि कृषकहरुले आन्तरीक तथा बाह्य परजिवी नियन्त्रणका लागि औषधी, उनको बजारीकरण, चरन क्षेत्रमा घाँसको विकास लगायतका कार्यक्रमलाई प्राथमिकता दिन माग गरेका थिए ।
समितिका अध्यक्ष रेशम छन्त्यालको अध्यक्षता र पशु सेवा केन्द्र ताकमका प्रमुख मनोहरी तिमील्सीनाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख दयाराम चापागाई र पशु विकास अधिकृत नरबहादुर बानियाले सहजिकरण गर्नुभएको थियो ।
भेलामा मल्कवाङ, मराङ, लुलाङ, मुदी, देविस्थान र गुर्जा गाविसका २५ जना भन्दा धेरै भेडापालक कृषकहरुको उपस्थिती रहेको थियो ।